दसैंलाई लक्षित गर्दै असोज १३ गते (फूलपाती) बाट प्रदर्शनमा आएका तीन नेपाली चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार, एक्सन–ड्रामा फिल्म ‘बलिदान’ ले सबैभन्दा राम्रो कारोबार गरेको छ।
रिपोर्ट अनुसार ‘बलिदान’ ले आठ दिनमा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
त्यसैगरी, कमेडी–सोसल ड्रामा ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कमाएको छ भने, मिलन तामाङ निर्देशित ‘माइतीघर’ ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
सन्तोष सेन निर्देशित ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक स्वयं सेनले मुख्य भूमिका निर्वाह गरेका छन्।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिमा खड्का र प्रकाश सपूतको अभिनय रहेको छ।
त्यसैगरी, डेब्यु निर्देशक मिलन तामाङको ‘माइतीघर’ मा धीरज मगर, केदार घिमिरे, उपासनासिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन्।
फूलपातीको प्रतिस्पर्धात्मक रिलिजबीच ‘बलिदान’ ले अग्रता लिँदै यो दसैंमा सबैभन्दा सफल ठहरिएको छ।