नेपाली चर्चित टिभी शो ‘कमेडी दरबार’को टिमले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’ को छायांकन बिहीवारदेखि पर्वतको भूकदेउरालीबाट सुरु गरेको छ । शुभमुहूर्तसँगै ३५ दिने तालिकासहित फिल्मको सुटिङ प्रारम्भ गरिएको हो ।
निर्देशक बिक्की अग्रवालका अनुसार पहिलो चरणमा करिब तीन साता गाउँको परिवेशमा छायांकन हुनेछ भने त्यसपछि सुटिङ काठमाडौंमा सर्नेछ । फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापालगायत कलाकारले अभिनय गरिरहेका छन् ।
सह–निर्देशक श्रद्धा प्रसाईंका अनुसार अभिनेत्री गौरी मल्ल केही दिनमा छायांकन स्थल पुग्नेछिन् । फिल्मलाई ‘कमेडी दरबार’का निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्दै छन्, भने पटकथामा बिक्कीलाई बिकास अर्याल र सरोज भण्डारीले साथ दिएका छन् ।
फिल्मको छायांकन निर्देशक सुदीप बराल हुन् ।
गत साउन दोस्रो हप्तामा फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो, जसमा रेखा, गौरी, तृप्ती र महेश त्रिपाठीलाई अनौठो अवतारमा देखाइएको थियो । त्यस पोस्टरले नै फिल्मको कथा रोचक र रहस्यमय हुने संकेत गरेको थियो ।
फिल्म ‘ककाकिकी’ मार्फत ‘कमेडी दरबार’ टिम अब सानो पर्दाबाट ठूला पर्दातर्फ उक्लिँदैछ ।