‘फर्की फर्की’बाट अभिनय यात्रा सुरु गरेकी नवअभिनेत्री समृद्धि अर्याल अब आफ्नो दोश्रो फिल्म ‘वरिष्ठ बलराम’ मार्फत पुनः दर्शकसमक्ष आउँदैछिन् । आगामी कात्तिक ६ गते (भाइटीकाको दिन) रिलिज हुन लागेको यो फिल्ममा समृद्धिले अभिनेता विजय बरालसँग जोडी बाँधेकी छिन् ।
ट्रेलरका झलकहरूले उनीलाई रिसाहा स्वभावकी युवतीको रूपमा देखाउँछन् । एउटा दृश्यमा उनले विजय बराललाई थप्पड हानेको समेत देखिन्छ, जसले उनको चरित्र बलियो र अभिव्यक्तिपूर्ण रहेको संकेत गर्छ ।
फिल्मप्रति निकै उत्साहित समृद्धिले आफ्नो भूमिकाबारे बताउँदै भनिन् —“फिल्ममा मेरो उपस्थितिको समय र स्थान दुवै महत्वपूर्ण छन् । म जहाँ देखिन्छु, त्यहाँ केही न केही प्रभाव छ । दुई मुख्य पात्रलाई प्रभाव पार्ने भूमिकामा छु भन्ने लाग्छ।”
दयाहाङ राई र विजय बराल जस्ता वरिष्ठ कलाकारसँग स्क्रिन सेयर गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने समृद्धि भन्छिन् —“सुरुमा अफर आउँदा डर लागेको थियो, तर पछि यो सिकाइको अवसर हो भनेर स्वीकृति दिएँ।”
उनले स्पष्ट पारिन् कि आफू फिल्ममा मात्र “शो पिस” होइनन्, बरु कथाको महत्त्वपूर्ण हिस्सा हुन् ।“म बलराम पात्रलाई सहयोग गर्ने प्रभावशाली भूमिकामा छु । यो क्यारेक्टर मेरो करिअरमा टर्निङ प्वाइन्ट बन्नेछ भन्नेमा विश्वस्त छु,” उनले थपिन् ।
सुरेन्द्र पौडेल निर्देशित फिल्ममा दयाहाङ राई, विजय बराल र समृद्धि अर्यालसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता हुन् ।