भावनात्मक सम्बन्ध र पारिवारिक मर्ममा आधारित चलचित्र ‘परान’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। एकल रिलिजको रूपमा प्रदर्शनमा आएको यो फिल्मले देशव्यापी करिब ७० शो पाएको छ तर, पहिलो दिनको प्रदर्शनमा फिल्मलाई केही चुनौतीहरू सामना गर्नुपरेको छ भने अग्रिम टिकट बिक्री सुस्त रहेको र झरीका कारण बिहानका शो प्रभावित भएका छन्।
फिल्मको प्रतिस्पर्धीका रूपमा अहिले पनि ‘जेरी अन टप’ बलियो देखिएको छ, जसले दुई सातादेखि बक्स अफिसमा उल्लेखनीय व्यापार बढाएको छ। त्यसैले, यो फिल्म ‘परान’लाई आफ्नो प्रदर्शन टिकाइराख्नका लागि दर्शकको सकारात्मक प्रतिक्रिया र वर्ड अफ माउथ प्रचार अत्यन्तै महत्वपूर्ण देखिएको छ।
बिहीबार साँझ सम्पन्न प्रिमियर शोमा फिल्मले अत्यधिक सकारात्मक प्रतिक्रिया बटुलेको छ। उपस्थित अधिकांश दर्शक भावुक बनेका थिए भने कथावस्तु, अभिनय, संवाद र ब्याकग्राउन्ड संगीतको प्रशंसा गरिएको थियो। वरिष्ठ अभिनेता हरिवंश आचार्यले ‘परान’लाई मन छुने र हृदयस्पर्शी फिल्मको रूपमा वर्णन गरेका थिए भने गायक रामकृष्ण ढकाल र निर्देशक सुयोग गुरुङले पनि यो फिल्मलाई उत्कृष्ट पारिवारिक प्रस्तुति भन्दै सबैलाई हेर्न आग्रह गरे।
दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ र बुद्धि तामाङको अभिनय रहेको छ भने फिल्मलाई शेखर गोल्छा (गोल्छा समूह) र रञ्जित आचार्य (प्रिज्मा एड्भर्टाइजिङ)ले संयुक्त रूपमा निर्माण गरेका हुन्।





 
					 
				













 





















































