कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य प्रतियोगिता ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ अन्तर्गत बराहक्षेत्र संस्करणको फोटो तथा भिडियो सुट सम्पन्न भएको छ । पछिल्लो समय सूर्यास्तको मनोरम दृश्यका लागि भाइरल बनिरहेको बराहक्षेत्रस्थित बोराबाँधमा सेमिफाइनल प्रवेश गरेका प्रतिस्पर्धीहरूको आकर्षक फोटोसुट गरिएको हो ।
उक्त फोटो तथा भिडियो सुट ‘परिकला फोटोग्राफी’ले गरेको थियो । आयोजक संस्था ‘एल एण्ड सी मोडल एजेन्सी प्रा. लि.’ का सञ्चालक तथा सिईओ दीपक गिरीका अनुसार विभिन्न चरण पार गर्दै ११ जना बालबालिकाहरू सेमिफाइनलमा पुग्न सफल भएका छन् । सेमिफाइनल पुग्ने प्रतिस्पर्धीहरूमा भावना राजधामी, टेरिशा बस्नेत, इक्सा लिम्बू, प्रश्ना चौधरी, रितिशा राजधामी, परिना राई, सोयल राई, प्रमिशा राजधामी, इसानी चौधरी, आरुषी श्रेष्ठ र युसाङ थापा मगर रहेका छन् ।
अब छिट्टै एक विशेष कार्यक्रमको आयोजना गरी यी प्रतिस्पर्धीहरूबीच सेमिफाइनल गराइने र उत्कृष्टलाई फाइनलका लागि छनौट गरिने सञ्चालक गिरीले जानकारी दिए । बराहक्षेत्रसँगै यतिबेला इटहरी संस्करणको अडिसन पनि तीव्र रूपमा भइरहेको छ भने कोशी प्रदेशका अन्य मुख्य शहरहरूमा समेत अडिसनको तयारी भइरहेको आयोजकले जनाएको छ । कोशी प्रदेशभरिका ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको यस प्रतियोगितालाई बालबालिकाको सर्वाङ्गीण विकासको पाठशालाको रूपमा लिइएको छ ।
प्रतिस्पर्धीहरूलाई सहज बनाउन आयोजकले विभिन्न ७ शहरमा अडिसन र सोही स्थानमा तालिमको व्यवस्था गरेको छ । तालिममा बालबालिकालाई व्यक्तित्व विकास, बोल्ने कला र योगा सिकाउनुका साथै बालमनोविज्ञानसँग जोडिएको संवेदनशील विषय ‘गुड टच–ब्याड टच’ बारे पनि सचेतना जगाइनेछ । स्थानीय अडिसनबाट छानिएका उत्कृष्ट ५/५ प्रतियोगीले सिधै ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको शीर्ष उपाधि ‘जूनियर मिस्टर कोशी आइकन’ र ‘जूनियर मिस कोशी आइकन’ जित्ने विजेताहरूले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
विजेताले नगद रु. ५०/५० हजार, फर्स्ट रनरअपले साइकल र सेकेन्ड रनरअपले ट्याब्लेट प्राप्त गर्नेछन् । यसका साथै, विजेता र उपविजेता गरी उत्कृष्ट ६ जनालाई नै उनीहरूले अध्ययन गरिरहेको विद्यालयमा सतप्रतिशत छात्रवृत्तिका लागि आयोजकले समन्वय गरिदिने घोषणा गरिएको छ । कोशी प्रदेशमा फेसन र मोडलिङको क्षेत्रमा लामो अनुभव संगालेको एल एण्ड सी मोडल एजेन्सीले यसअघि पनि सुनसरी लिटल प्रिन्स एण्ड एन्जल, मिस धरान सुपर आइकन, फेस अफ पूर्व लगायतका दर्जनौँ सफल प्रतियोगिताहरू आयोजना गरिसकेको छ ।










