तीन हजार यौनकर्मी महिलाको अनुभवलाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘लालिमा’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ। एक मिनेटभन्दा केही लामो टिजरले फिल्मको कथावस्तु र मुख्य पात्रको भावनात्मक यात्राबारे झल्को दिन्छ। टिजरमा अभिनेत्री रोशनी कार्कीलाई केन्द्रमा राखिएको छ, जहाँ उनले निर्वाह गरेको यौनकर्मी पात्रको पीडा, संघर्ष र आत्मबललाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ।

कोठाभित्र भावुक अवस्थामा देखिएकी रोशनीलाई सुष्मा निरौलाले अंकमाल गर्ने दृश्यबाट टिजर सुरु हुन्छ। त्यसपछि उनको पारिवारिक द्वन्द्व, परिस्थितिले यौनकर्मतर्फ धकेलिएको अवस्था र प्रेम जीवनका उतारचढावलाई दृश्यात्मक रूपमा देखाइएको छ। अन्तिम दृश्यमा उनलाई बच्चा बोकेर कतै जाँदै गरेको देखाइन्छ, जसले पात्रको भविष्यप्रतिको अनिश्चितता र संघर्षलाई संकेत गर्छ।
फागुन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा रोशनी र सुष्मासहित शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सबिन कट्टेल र घनश्याम जोशीको अभिनय रहेको छ।

फिल्मको लेखन तथा निर्देशन रोशन मिराजले गरेका हुन् भने निर्माण फेथ आस्था र एम्पिफाई चेन्जले गरेका छन्। कार्यकारी निर्मातामा रीना लामा रहेकी छन्। निर्देशक मिराजका अनुसार फिल्मको कथा ‘लालिमा’ पात्रको कठिन जीवन यात्रामा केन्द्रित छ। एक घटनापछि उनकी आमा कारागार पुग्छिन्, र आमालाई छुटाउन संघर्ष गर्ने क्रममा लालिमा सहरको कठोर यथार्थसँग जुध्न बाध्य हुन्छिन्। शारीरिक तथा मानसिक पीडाबीच बाँच्नुपर्ने उनको संघर्ष नै फिल्मको मुख्य कथावस्तु हो। टिजरले सामाजिक यथार्थ र यौनकर्मी महिलाको जीवनभित्रका अदृश्य पीडालाई पर्दामा सशक्त रूपमा उतार्ने संकेत दिएको छ।

तपाईको प्रतिक्रिया