निर्देशक राजेन्द्र बस्नेत को नयाँ फिल्म ‘कार्की साइँला’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। मंगलबार धनकुटाबाट फिल्मको पहिलो सट खिच्दै निर्माण टिमले छायांकन यात्रा अघि बढाएको हो। फिल्मको पहिलो दृश्य कलाकार जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी) ले दिएका छन्। उनीहरू यस फिल्ममा श्रीमान्–श्रीमतीको भूमिकामा देखिनेछन्। विशेष कुरा के भने, यो उनीहरूको पहिलो सहकार्य हो, जसलाई दर्शकले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।

छायांकन सेटमा सुशील पोखरेल, विरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको उपस्थिति रहेको छ। निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन एक महिनाको सेड्युलमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। धनकुटापछि बराहक्षेत्र र चतरामा पनि दृश्यहरू खिचिनेछन्।

कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता बालकुमार राई हुन् भने प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ रहेका छन्। डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन र दिप्सन लिम्बूको संगीत रहने फिल्ममा २ सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका रोजल थापा मुख्य सहायक निर्देशकको भूमिकामा छन्। ग्रामीण परिवेश र सामाजिक कथावस्तु समेट्ने अपेक्षा गरिएको ‘कार्की साइँला’ले दर्शकमाझ कस्तो प्रभाव पार्नेछ भन्ने प्रतीक्षा अब सुरु भएको छ।

तपाईको प्रतिक्रिया