अभिनेता तेरिया मगर र दयाहाङ राई अभिनीत फिल्म ‘मितज्यू’को छायांकन सम्पन्न भएको छ। निर्माता जनक घर्ती मगरका अनुसार दाङ र रोल्पाका विभिन्न रमणीय स्थानमा करिब एक महिनासम्म लगातार छायांकन गरिएको हो।
फिल्ममा तेरिया मगर र दयाहाङ राई मुख्य भूमिकामा छन्। साथै सौगात मल्ल, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगरको अभिनय रहेको छ।
निर्माता घर्ती मगरले सम्पूर्ण टिमको समन्वय र मेहनतका कारण निर्धारित समयमै छायांकन सकिएको बताए। उनका अनुसार प्राविधिक तथा कलाकार पक्षको सशक्त साथले काम सहज बनेको हो।
निर्देशक मगरको यो दोस्रो निर्देशकीय प्रयास हो। यसअघि उनले घरज्वाइँ निर्देशन गरेका थिए, जसमा पनि दयाहाङ राई मुख्य भूमिकामा थिए। नयाँ फिल्म ‘मितज्यू’ भने आगामी १५ जेठदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।










