हालै छायांकन सम्पन्न गरेको फिल्म **‘मितज्यू’**ले आफ्नो फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ। यसअघि गत वर्ष माघमा निर्माण घोषणा गर्दा सार्वजनिक गरिएको पेन्टिङ पोस्टरकै आधारमा नयाँ फर्स्टलुक तयार पारिएको निर्माण पक्षले जनाएको छ।
पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर आकर्षक ढंगले प्रस्तुत छन्। दयाहाङ र सौगातबीचको पञ्जा लडाइँले दुई पात्रबीचको आत्मसम्मान र द्वन्द्वको संघर्षलाई संकेत गर्छ। उता, मगर समुदायको मौलिक पहिरनमा देखिएकी तेरिया मालवाहक गाडीको बोनटमाथि बसेकी छन्, जसमा उनको रिसालु भावले कथाको भावनात्मक गहिराइ झल्काउँछ। पहाडी भूगोललाई पृष्ठभूमिमा राखिएको पोस्टरले प्रेम त्रिकोण, सामाजिक द्वन्द्व र पात्रहरूको आन्तरिक संघर्षलाई केन्द्रमा राखिएको कथावस्तुको संकेत गर्छ। फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका हुन् भने निर्माण जनक घर्ती मगरको रहेको छ।
फिल्ममा पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
शिशिर बिशंखेको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, प्रभात विष्टको द्वन्द्व निर्देशन, नवीन श्रेष्ठको साउन्ड डिजाइन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको यो फिल्म रोहित–रत्न समूहको आरआर फिल्म्सले देशभर वितरण गर्नेछ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।










