अभिनय र निर्माण दुवै क्षेत्रमा सक्रिय अभिनेत्री प्रियंका कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर सर्ट फिल्म ‘टाँक’ युट्युबमार्फत सार्वजनिक गरेकी छन्। कोरोना महामारीअघि वेब सिरिज जस्ट एनदर लभ स्टोरी निर्माण गरेकी उनले दुई वर्षअघि तयार पारेको यो सर्ट फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनपछि डिजिटल प्लेटफर्ममा ल्याएकी हुन्।
१४ मिनेट ४४ सेकेण्ड लामो यस फिल्मको निर्देशन साम्तेन भुटियाले गरेका हुन्। फिल्ममा प्रियंका स्वयं सुदूरपश्चिमेली लवजमा प्रस्तुत हुँदै आमाको भूमिकामा देखिएकी छन्। अझै पनि तुइनको सहारामा नदी वारपार गर्नुपर्ने बाध्यतामा बाँचिरहेका नेपालीहरूको यथार्थलाई आधार बनाएर फिल्मले आमा–छोराबीचको मार्मिक कथा प्रस्तुत गर्छ। फिल्म सार्वजनिक भएसँगै युट्युबमा दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ। धेरैले प्रियंकाको अभिनयलाई जीवन्त र परिपक्व भन्दै प्रशंसा गरेका छन् भने कतिपयले यसलाई उनको अहिलेसम्मकै उत्कृष्ट अभिनयसमेत भनेका छन्। विशेषगरी क्लाइमेक्सको अप्रत्याशित मोड र सन्तानप्रतिको आमाको निस्वार्थ प्रेमले दर्शकलाई भावुक बनाएको प्रतिक्रियाहरू उल्लेखनीय छन्।
प्रियंकाले सामाजिक सञ्जालमार्फत पहिलो पटक कथा सुन्नासाथ फिल्म निर्माण गर्ने निर्णय गरेको खुलाएकी छन्। उनले ‘टाँक’लाई आयंका फिल्म्सको पहिलो उत्पादन भएको बताउँदै प्रोडक्सन टिम र लेखक–निर्देशक भुटियाप्रति आभार व्यक्त गरेकी छन्।
फिल्ममा प्रियंकासँगै रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी र रेनु योगीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ। लेखन तथा सम्पादन स्वयं निर्देशक भुटियाको रहेको फिल्मको छायांकन प्रियंकाका श्रीमान् आयुष्मान देशराज जोशीले गरेका हुन्, जो कार्यकारी निर्मातासमेत रहेका छन्। ‘टाँक’ले छोटो अवधिमै सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई प्रभावशाली ढंगले प्रस्तुत गर्दै दर्शकमाझ राम्रो छाप छोड्न सफल भएको देखिन्छ।










