नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने उद्देश्यसहित नयाँ नेपाली फिल्म ‘टिका’ निर्माण हुने भएको छ। आइतबार मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।

भविष्य खड्का फिल्मस् र थर्ड आइ आर्ट्सको संयुक्त ब्यानरमा बन्ने यस फिल्मको निर्देशन शंकर कार्कीले गर्नेछन्। सार्वजनिक गरिएको थिम पोस्टरमा ‘टिका’लाई रातो गोलाकारभित्र सेतो अक्षरमा प्रस्तुत गरिएको छ, जसले कथामा विद्रोह, संघर्ष, शान्ति र नैतिक स्वच्छताको भाव झल्काउने संकेत दिन्छ। फिल्मको उपशीर्षक ‘राज्यविहीन आत्मा’ राखिएको छ। यसले आफ्नो पहिचान खोजिरहेको पात्रको संघर्ष र आत्मपहिचानको यात्रालाई कथा केन्द्रमा राख्ने संकेत गर्छ। यद्यपि, निर्माण टिमले फिल्मको कथावस्तुबारे विस्तृत जानकारी भने हाल सार्वजनिक गरेको छैन।
यस वर्ष व्यावसायिक रूपमा सफल मानिएको फिल्म जेरि ओन टप की निर्मात्री भविष्य खड्का यस फिल्मकी निर्माता हुन्। कलाकारको रूपमा महेश त्रिपाठि , ऋचा शर्मा  , वर्षा शिवाकोटी निर्मल शर्मा अनुबन्धित भइसकेका छन्। साथै बाल कलाकार आयुसी धकाल पनि मुख्य भूमिकामा देखिने जनाइएको छ।
फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसीका अनुसार अन्य कलाकार तथा प्राविधिक टिमको छनोट प्रक्रिया जारी छ।

फिल्मको कथा चन्दन झा र निर्देशक कार्कीले तयार पारेका हुन् भने पटकथा रामकुमार श्रेष्ठले लेखेका छन्। सम्पूर्ण कलाकार र प्राविधिक टिम तय भएपछि औपचारिक रूपमा फिल्मको ‘फ्लोर’मा जाने तयारी गरिएको निर्माण पक्षले जनाएको छ। यसै वर्ष छायांकन सुरु गर्ने योजना रहेको फिल्मको प्रदर्शन मिति भने छायांकनमा जाँदै गर्दा घोषणा गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया