अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म एक मुठ्ठी बादल माई सेयर अफ स्काई आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।
नेपालमा फिल्मलाई आरआर फिल्म्सले वितरण गर्ने जनाइएको छ।
सहारा शर्माको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा आँचलसँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय छ। अभिनेत्री निशा शर्मा करिब तीन दशकपछि पुनः अभिनयमा फर्किएकी हुन्।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। निर्माण टोलीमा जर्मनीका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलको सहभागिता छ। फिल्मको कलर ग्रेडिङ थाइल्यान्डको वाइट लाइट पोस्ट ले गरेको छ भने छायांकन भियतनामकी लिन्ह डान न्गुयेन फान र सम्पादन भारतकी दिपा भाटिया ले गरेकी हुन्।
विशेष कुरा के भने, ‘एक मुठ्ठी बादल’ले हर्ब्ट बलस फन्ड अन्तर्गतको युरोपेली पोस्ट-प्रोडक्शन अनुदान प्राप्त गर्ने पहिलो नेपाली फिल्मको रूपमा इतिहास बनाइसकेको छ।
फिल्मले तीन पुस्ताबीचको भावनात्मक उतारचढावलाई केन्द्रमा राख्दै तीव्र रूपमा परिवर्तन भइरहेको नेपाली समाजमा परिवारभित्रका अपेक्षा, त्याग र व्यक्तिगत सपनाबीचको द्वन्द्वलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।










