अपराध र बदलाको कथामा आधारित नेपाली फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ। मंगलबार बिहान काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मुहूर्त पूजा गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो। मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको निर्माण टिमले जनाएको छ। साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुनिल पाण्डेले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो।

फिल्मको कथा पनि उनले स्वयं तयार पारेका हुन्। निर्देशक पाण्डेका अनुसार ‘मुक्तिपुर’ले एउटा सामान्य परिवारको प्रतिनिधित्व गर्ने पात्रको जीवनमा आउने अप्रत्याशित मोड र त्यसपछि सुरु हुने बदलाको यात्रालाई केन्द्रमा राख्नेछ। फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र आकृति बुढाथोकी मुख्य भूमिकामा देखिनेछन्। आकृतिले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गर्न लागेकी हुन्। त्यस्तै, घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा र अनामिका लामिछाने लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

काठमाडौं आसपासका विभिन्न स्थानमा करिब ४० दिन लगाएर फिल्मको छायांकन गरिने बताइएको छ। फिल्मको छायांकन शरद महतोले गर्नेछन् भने द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहनेछ।
विजय राजवंशी र रोशन पासवान निर्माता रहेको यस फिल्ममा ‘एभरेष्ट फिल्म एकेडेमी’को पनि सहकार्य छ। कार्यकारी निर्मातामा विशाल श्रेष्ठ र सह–निर्मातामा केशव गौतम रहेका छन्। निर्माण टिमले छायांकन सम्पन्न भएको ६ महिनाभित्र फिल्म प्रदर्शनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया