संसदीय निर्वाचन सकिएपछि केही समय सुस्ताएको फिल्म बजार फेरि चलायमान हुन थालेको छ । हलहरूमा नयाँ फिल्म रिलिज हुने क्रम सुरु भइसकेको छ र यसको सुरुवात फिल्म ‘लालिमा’ बाट भएको छ । यो फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हो ।
तीन हजारभन्दा बढी यौनकर्मी महिलाको अनुभवमा आधारित भनिएको यस फिल्मले देशभरका हलमा ६० भन्दा बढी शो पाएको छ । एकल रिलिजको अवसर पाएको भए पनि सुरुवाती चरणमा फिल्मको टिकट बुकिङ भने अपेक्षाअनुसार देखिएको छैन ।

दर्शक हलसम्म तान्ने उद्देश्यले निर्माण टिमले विशेष अफर पनि ल्याएको छ । खल्ती एप मार्फत टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने व्यवस्था गरिएको छ । निर्माण पक्षले यस अफरले फिल्मको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । तर, नेपाली फिल्म बजारमा यसअघि यस्ता अफरले खासै प्रभाव पार्न नसकेको उदाहरण पनि छन् ।
फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा देखिएकी छन् । उनले यौनकर्मीको भूमिका निर्वाह गरेकी छन् । यस भूमिकालाई यथार्थपरक बनाउन उनले १० जना यौनकर्मीसँग भेटघाट गरी अनुभव समेत लिएकी थिइन् ।

रोशनीसँगै फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, घनश्याम जोशी, सुष्मा निरौला र सबिन कट्टेल लगायत कलाकारहरूको अभिनय रहेको छ । रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा रहेकी छन् । फिल्ममा रोविन शर्मा दाहालको छायांकन र गौतम राज खड्काको सम्पादन रहेको छ । त्यस्तै कथावस्तुका हिसाबले फिल्म बोल्न नसक्ने आमामाथि घटेको एक घटनापछि उनी कारागार पुग्छिन् र उनलाई मुक्त गराउन छोरीले गर्ने संघर्ष वरिपरि केन्द्रित रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया