दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेको फिल्म ‘आचार्य’को प्रदर्शन मितिबारे चासो झन् बढ्दै गएको छ । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको यो फिल्मको छायांकन सम्पन्न भएको करिब पाँच महिना बितिसकेको भए पनि अहिलेसम्म आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छैन ।
यद्यपि, फिल्मको रिलिज डेट भने आन्तरिक रूपमा तय भइसकेको बताइएको छ । निर्माण पक्ष निकट स्रोतका अनुसार फिल्म आगामी साउन २९ गतेबाट प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । भदौ महिनामा पर्ने प्रमुख चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन योजना बनाइएको जनाइएको छ । केही दिनभित्र फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे औपचारिक जानकारी दिने तयारी भइरहेको छ ।
सोमबार सञ्चारकर्मीसँगको भेटमा निर्देशक तथा अभिनेता निखिल उप्रेतीले पनि फिल्म साउनमै रिलिज हुन सक्ने संकेत गरेका छन् । उनले फिल्मको प्राविधिक काम अझै जारी रहेकाले हतारमा मिति घोषणा नगरेको बताए । उनका अनुसार ब्याकग्राउन्ड स्कोर, ग्राफिक्स तथा अन्य पोस्ट-प्रोडक्सनका काम तीव्र गतिमा भइरहेको छ ।
‘आचार्य’ निखिल उप्रेतीको निर्देशनमा बनेको दोस्रो फिल्म हो । उनले यसअघि सन् २०१५ मा ‘भैरव’ निर्देशन गरेका थिए । करिब ११ वर्षपछि उनी पुनः निर्देशनमा फर्किएका हुन् । फिल्ममा निखिल उप्रेतीसँगै सञ्चिता लुइँटेल, पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै भारतीय कलाकार दीपराज राणाको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको छ ।
लामो समयदेखि प्रतिक्षामा रहेको ‘आचार्य’ले अब साउनमै प्रदर्शनको बाटो समाउने संकेत देखिएपछि दर्शकमाझ उत्सुकता थप चुलिएको छ ।










