१९ माघ, काठमाडौं । गायिका अमृता श्रीपाल पछिल्लो समय दोहोरी गायनमा चर्चा बटुल्दै गरेकी गायिका हुन् । गायन क्षेत्रमा लागेको छोटो समयमा दर्जनभन्दा बढी गीतको एल्बम उनको बजारमा आइसकेको छ । बेनी नगरपालिका म्याग्दीमा जन्मिएर हुर्केकी अमृताले गाउँमा स्कुले जीवनदेखि नै गीतसंगीतमा लागेकी थिइन् । बेनी वरपर हुने मेला महोत्सवमा दोहोरी गाउँदै सहभागीता जनाउँदै गीतसंगीतमा होमिएकी उनले ‘दशै तिहार मनाउन’ गीत त्यतिबेला नै गाएकी थिइन् । उक्त गीत गाएपछि पढाईको सिलसिलामा काठमाडौं भित्रिएकी अमृताले पढाइसँगै गायनलाई पनि सँगसँगै लिएर अगाडि बढेकी छन् ।

काठमाडौंको स्वरस्वति क्याम्पसमा म्यानेजमेन्ट विषय लिएर पढ्दै गरेकी अमृताले पढाईसँगै दोहोरी साँझमा काम गर्दै आएकी छन् । काठमाडौं भित्रिने वित्तिकै नेपाली दोहोरी साँझमा काम गर्न थालेकी उनलाई पहिलोपटक स्टेज चढ्दा निकै डर र लाज लागेको थियो । कसरी गाउने होला, दोहोरी साँझ कस्तो होला भन्ने उनको मनभित्र थियो तर स्टेज चढेर गीत गाउन थालेपछि भने कसैले पनि दोहोरी गाउन सिकाउन परेन । दिउँसोको पढाई र रात्रीकालिन रोजगारीले उनको पढाईलाई झन् सहज बनायो । दोहोरीमा प्रत्येक दिन गीत गाउँदा पाउने टिप्सले दैनिक खर्च चल्ने गर्दा पढाइलाई सहयोग पुगेको उनले बताईन् । अन्य काम गर्दा महिनाभरि खर्चका लागि कुर्नुपर्ने अवस्थालाई दोहोरी साँझको कामले मासिक तलब र दैनिक टिप्सले खर्च राम्रोसँग चल्ने उनले बताइन् ।

दोहोरी साँझमा विकृति हुन्छ रे नि भन्ने प्रश्नमा उनले भनिन्– ‘त्यो त हेर्नेको नजरमा फरक हुने हो । हामीले सभ्य तरिकाले पारिवारिक वातावरणमा रोजगारी गर्दा कतिलाई फरक लाग्न सक्ला तर त्यहाँभित्र त्यस्तो विकृति भने छैन ।’ दोहोरी साँझ धेरैको पाठशाला बन्दै आएको हुँदा त्यो एउटा राम्रो प्लेटफर्मका रुपमा धेरै गायक गायिकाले प्रयोग गर्न सफल भएका छन् गायिका अमृताले भनिन् ।

‘दशैं तिहार मनाउन’ गायिका अमृतालाई चिनाउन सफल गीत हो । त्यो गीतको चर्चासँगै उनले लगातार डाँडैमाथि घर, भन्छन् जोडी राम्रो, चमेली र जाने बेला सरर जस्ता गीतहरु निरन्तर गाउँदै आइन् । काठमाडौं प्रवेश गरेको एक वर्षमै उनले एक दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । गाउँमा छँदा खड्ग गर्बुजा, विमा कुमारी दुरा, प्रकाश पौडेल, हरिदेवी कोइराला, नारायण रायमाझी जस्ता अग्रजहरुका गीत सुन्दा त्यो रेडियोभित्र छिरेर गीत गाउने कहिले होला जस्तो लाग्ने अमृतालाई आजभोलि भने सामान्य लाग्न थालेको छ । मायाप्रेम र नेपाली कला संस्कृति झल्कने मौलिक गीतहरु मन पराउने गायिका अमृता यतिबेला भने गाउँको मेला महोत्सवमा मनपरेको मान्छे खोज्ने झ्याउने गीत बजारमा ल्याउन लागेकी छन् । कुनै बेला मन परेको मान्छे मेला महोत्सवमा भेट हुन्छकी भनेर खोज्दै हिंडेका प्रेमी र प्रेमिकाबीचको कथालाई अब आउने नयाँ गीत ‘वर्षदिन’ नामक झ्याउरेमा समावेश गरिएको उनले बताइन् । गायक रञ्जित परियार र अमृताको स्वर रहने यस गीतको रेकर्डिङको कार्य भइरहेको छ । अब छिट्टै बजारमा आउन लागेको यो गीतबाट निकै आशावादी रहेकी छिन् ।

तपाईको प्रतिक्रिया