नेपाली फिल्मकर्मीको बोलीमा दर्शकले रत्ति विश्वास गर्दैनन् । यो अवस्था सृजना हुनुको जिम्मेवार उनीहरु स्वयं हुन् । बोलेको कुरा पूरा गर्न नसकेका कारण नै उनीहरुप्रति दर्शकको अविश्वास बढेको हो । फिल्म क्षेत्रमा कामभन्दा कुरा बढी हुने गर्छ । ओझेलमा नपरियोस् भनेर मिडियामा दुई/चार दिन चर्चा बटुल्न फिल्मकर्मीहरु निकै ठूला ‘गफ’ दिन्छन् । तर, बोली पूरा गर्न भने सक्दैनन् ।
नेपालमा घोषणा भएका फिल्म थन्किएका बग्रेल्ती उदाहरणहरु छन् । राजधानीका ठूला होटलमा तामझामका साथ फिल्मको घोषणा गरिन्छ तर निर्देशक-निर्माताबीच असमझादरी बढेपछि फिल्म निर्माण नहुँदै सधैंका लागि थन्किन्छ । कति फिल्म भने निर्माण हुन्छन्, तर पोष्ट प्रोडक्सनमा अड्किन्छन् । यस्तै कारणले नेपाली फिल्मकर्मीले दर्शकको विश्वास गुमाउँदै गएका हुन् ।
‘एक्सन स्टार’ को उपाधि पाएका शिव श्रेष्ठप्रति पनि दर्शकको अविश्वास पैदा भएको छ । किनकि, उनले डेढ वर्ष अगाडि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को घोषणासँगै टीजर सार्वजनिक गरेका थिए । फिल्ममा उनी प्रस्तुतकर्ता र दिनेश दर्शनधारी र यशोधा राई निर्माताको रुपमा छन् । फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्दै थिए ।
शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, नरेन खड्का, किरण केसी, आयुष्मान देशराज जोशीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । दीपेश सापकोटा निर्देशित फिल्मको छायांकन लगभग सकिसकेको छ । तर, फिल्म पोष्ट प्रोडक्सनमा अल्झिएको छ । निर्देशक सापकोटा स्वयंलाई पनि फिल्म प्रदर्शन हुन्छ वा हुँदैन भन्ने थाहा छैन ।
के ‘एउटा यस्तो प्रेम कहानी’ दर्शकले हेर्न पाउँदैनन् ? निर्माता दर्शनधारीले अर्को वर्षभित्र फिल्म प्रदर्शन हुने बताए । फिल्मीखबरसँग फोनर्वार्तामा उनले भने, ‘अहिले फिल्मको पोष्ट प्रोडक्सनमा काम भैरहेको छ । फिल्मको एकसाथ दुईवटा श्रृंखला खिच्नु पर्ने भएकाले प्रदर्शनमा आउन ढिलाई भएको हो । अर्को वर्ष फिल्मको पहिलो पार्ट प्रदर्शनमा ल्याउने तयारी गरिरहेका छौं ।’
छायांकन सुरु भएपछि फिल्ममा कविता र शक्ति भित्रिएका थिए । उनीहरुको प्रवेश भएपछि कथामा केही परिवर्तन गर्नु परेका कारण पनि फिल्म निर्माणमा समय लागेको निर्माता दर्शनधारीको भनाई छ । निर्माताबीचको असमझदारीका कारण फिल्म अड्किएको त होइन ? भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो केही होइन । हामीबीच फिल्म प्रदर्शन गर्ने विषयमा छलफल भैरहेको छ ।’
अभिनेत्री करिश्मा आफ्नी छोरीलाई होम प्रोडक्सनको फिल्मबाट डेब्यू गर्ने तयारीमा थिइन् । तर, अभिनेता शिवको आग्रहपछि ‘एउटा यस्तो प्रेम कहानी’ बाट उनी छोरीलाई डेब्यू गराउन तयार भएकी थिइन् । तर, यो फिल्म रिलिज नुहँदा करिश्मा र कविता दुवै निराश छन् । उता, शिवका छोरा शक्तिले भने डेब्यू फिल्म प्रदर्शन नभएपछि ‘लप्पन छप्पन २’ मा काम गरिसकेका छन् ।




































