दशैंपछि हलहरु सुनसानझैँ थिए । आश गरिएका केही फिल्म प्रदर्शन भए पनि हलसम्म कुनैले दर्शक तान्न सकेनन् । पुष महिनामा त झन् नेपाली फिल्म प्रदर्शनमै आएनन् । जाडोमा दर्शक हल नआउने डरले निर्माताले फिल्म प्रदर्शन गर्न डराए । तर, जाडो महिनामै विदेशी फिल्मले भने नेपालमा करोडौं छापे । ‘दबंग ३’ पछि एक महिना नेपाली हल विदेशी फिल्मको कब्जामा रह्यो ।
पुष महिनामा कुनै आश गरिएका नेपाली फिल्म प्रदर्शन नहुँदा सिंगल थिएटर बन्द हुने अवस्थामा पुगेका थिए । मल्टीप्लेक्सलाई भने विदेशी फिल्मका कारण समस्या भएन । नेपाली फिल्म प्रदर्शन नहुँदा माघ पहिलो सातासम्म सुनसान रहेका हलहरु शुक्रवारबाट यस वर्षका दुई प्रतिक्षीत फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ प्रदर्शनमा आएपछि धेरै हदसम्म चहलपहल देखिएको छ ।
यी दुई फिल्ममध्ये ‘साङ्लो’ ले सिंगल थिएटरमा प्रदर्शनको दुई दिन शुक्रवार र शनिवार सुखद व्यापार गर्दा विशाल सापकोटा निर्देशित ‘सेल्फी किङ’ ले भने मल्टीप्लेक्सतर्फ दर्शकको राम्रो साथ पाएको छ । शुक्रवार अपेक्षाकृत व्यापार गर्न नसकेको अभिनेता विपिन कार्की स्टारर फिल्मले शनिवार भने मल्टीप्लेक्सले उपलब्ध गराएका सोजमा दर्शक भरिभराउ देखिएका थिए ।
सिंगल थिएटरमा भने फिल्मको व्यापार सन्तोषजनक छैन । शनिवार निर्देशक विशाल सापकोटा, अभिनेता विपिन कार्की र निर्माता दिनेश राउतले राजधानीका विभिन्न मल्टीप्लेक्स हलमा पुगेर दर्शक प्रतिक्रिया बुझेका थिए । अभिनेता विपिनले दर्शकले फिल्मलाई रुचाएकोमा खुसी व्यक्त गरे । स्क्रिप्टभन्दा बाहिर नगइ फिल्म बनेको बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरे ।
अभिनेता विपिनले दर्शकबाट प्राप्त प्रतिक्रिया सुनाउँदै भने- ‘राम्रो र सरल फिल्म भन्दै दर्शकले प्रशंसा गर्नुभएको छ । दर्शकबाट जुन प्रकारको प्रतिक्रिया पाएको छु त्यसबाट म सन्तुष्ट छु ।’ उनी फिल्मको आउटपुटबाट पनि सन्तुष्ट देखिए । उनले अगाडि थपे- ‘हामीले जस्तो फिल्म बनाउने सोच बनाएका थियौं त्यो लगभग पूरा भएको छ । स्क्रिप्टभन्दा बाहिर गएर फिल्म बनेको छैन ।’
अमेरिकामा फिल्म मेकिङको अध्ययन गरेर नपाल फर्किएका निर्देशक विशाल सापकोटाले दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित भएको बताए । फिल्म प्रदर्शनभन्दा अगाडि उनले एक हास्यकलाकारको जीवनमा घटेको एउटा घटनालाई ड्रामाटाइज गरेर ‘सेल्फी किङ’ मा देखाइएको बताएका थिए । शनिवार उनले सञ्चारमाध्यमसँग कुराकानी गर्दै ती हास्यकलाकारको नाम खुलाए ।
हास्यटेलिश्रृंखला ‘हर्के हवल्दार’ मा प्रमुख भूमिका निभाउँदै आएका विष्णु सापकोटा निर्देशक विशालका काका रहेछन् । उनले आफ्नै काकाको जीवनमा घटेको एक घटनालाई ड्रामाटाइज गरेर फिल्ममा प्रस्तुत गरेको बताए । तर, आफ्नो काकाको जीवनीमा आधारित भएर फिल्म नबनेको उनले प्रस्ट्याए । ‘सेल्फी किङ’ को कथा पनि निर्देशक सापकोटा आफैंले लेखेका हुन् ।
निर्देशक टर्न निर्माता दिनेश राउतले फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो भएका कारण आइतवारबाट हलमा दर्शकको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे । उनले भने- ‘कमर्शियल फिल्म जस्तो ‘सेल्फी किङ’ को सुरुवाती व्यापार आक्रामक हुँदैन भन्ने हामीलाई पहिल्यै थाहा थियो । तर, फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो छ । त्यसैले फिल्म लामो रेसको घोडा बन्छ भन्नेमा विश्वस्त छु ।’
फिल्मले एक हास्यकलाकारको तीन दिनको कथा भन्छ । फिल्मको केन्द्रिय भूमिकामा विपिन छन् । उनले एक हास्यकलाकारको भूमिका निभाएका छन् । फिल्ममा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ । फिल्मको एक गीतमा अभिनेत्री केकी अधिकारीले नृत्य गरेकी छन् ।










