काठमाडौँ — ‘मेरो फोटो हेरेर धेरै निर्देशकले तिमी हिरो देखिन्छौ भन्नुहुन्थ्यो । तर, फिल्ममा अवसर कहिल्यै दिनुभएन । कति निर्देशकले त एउटा म्युजिक भिडियो गर्न १० हजार रुपैयाँ हाल भन्नुहुन्थ्यो । म भन्थें, कलाकार बन्न आएको मान्छे हुँ, म त पैसा लिएर काम गर्ने हो । पैसा हालेर कलाकार बन्न पाउने प्रवृत्ति कहिलेसम्म हुन्छ यो इन्डस्ट्रीमा ?,’ दर्शक दीर्घाबाट निर्मल न्यौपानेले प्रश्न राखे ।
‘बुलबुल’ निर्देशक विनोद पौडेलले निर्मललाई यस्तो प्रवृत्ति संसारभर रहेको जवाफ दिए। उनले निर्मललाई कला बुझ्ने निर्देशकसँग काम गर्न पनि भने।
‘राम्रा फिल्मकर्मीबीच जानुपर्यो। हेन्डसम भएर मात्र भएन आफ्नो क्षमता पनि बढाउनुपर्यो। त्यसकारण दुःखित नहुनुस्,’ बुधबार सर्वनाम थ्रिएटरमा सम्पन्न ‘सिर्जनात्मक जागिर’माथिको छलफलमा विनोदले भने।
एनिमेटर किरणभक्त जोशीले भने यस्तो खराब प्रवृत्तिलाई इन्डस्ट्रीबाट हटाउनुपर्ने बताए। ‘तपाईंहरूले नै यसको विरुद्धमा लड्नुपर्छ। आज एउटा भिडियोको लागि ५० हजार तिरे झन्-झन् यो प्रवृत्ति बढ्दै जान्छ। त्यसैले युवापुस्ता यो प्रवृत्ति विरुद्धमा उठ्नुपर्छ। चाहे ५ वर्ष नै किन नलागोस्,’ उनले भने।
लगानी गरेर म्युजिक भिडियो गर्नुभन्दा आफ्नै टीम बनाएर काम गर्नुपर्ने विनोदको भनाइ थियो। निर्देशक विनोदले खगेन्द्र लामिछानेले पनि लगानी गरेरै ‘लाइम लाइट’मा आएको प्रसंग जोड्दै लगानी गर्नु खराब प्रवृत्ति नरहेको पनि बताए। ‘पैसा हाल्दैमा नराम्रो त हुँदैन। तपाईं क्षमतावान् हुनुहुन्छ भने व्यवसायिक रूपमा पनि त अगाडि आउन सक्नुहुन्छ। आफ्नो क्षमता देखाउनका लागि कहिलकाहीँ साथिहरू मिलेर लगानी गरेर काम गर्न सकिन्छ। अरुलाई पैसा दिएर चाहिँ नगर्नुस्,’ उनले भने।
कार्यक्रममा फिल्म क्षेत्रमा भविष्य देख्नेहरूबीच निर्देशक दीपाश्री निरौलाले आफ्नो संघर्षको कथा सुनाइन्। विराटनगरदेखि काठमाडौं प्रवेश गर्दा उनले पनि कलाकारितामै आफ्नो भविष्य देखिन्। तर, त्यो बेला कलाकार बन्न निकै गाह्रो अवस्था रहेको उनले सुनाइन्। उनले सीप भएको व्यक्तिलाई जुनसुकै क्षेत्रमा पनि भविष्य रहेको बताइन्।
‘तपाईं सक्षम हुनुहुन्छ भने जहाँ पनि काम पाउनुहुन्छ। तर फिल्ममा यस्सो अनुहार मात्र देखाउने हो भनेर आउनु भयो भने यहाँ केही छैन,’ उनले भनिन्, ‘लामो संघर्ष गरेर यहाँसम्म आइपुगेकी छु। त्यसैले संघर्ष गर्न डराउनु भएन ।’










