मोरङ । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले बेलबारीमा कार्यक्रमका प्रमुख अतिथिबाटै लेखकको कृति खरिद गरेर सोही कृतिको लोकार्पण गर्ने कामको सुरुआत भएको छ । मोरङको बेलबारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरूबाट कृति खरिद गरेर त्यसैको लोकार्पण गरेका हुन् ।
नेपाली साहित्यमा कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा कलम चलाउने, पछिल्लो समय भने अनुसन्धानका पुस्तक लेख्तै आएका विरहीले बेलबारीमा अनुसन्धान अक्षयकोष निर्माणको अभियान सुरु गरेका छन् । अभियानकै लागि भनेर उनले सो क्षेत्रका सामाजिक तथा सांस्कृतिक अभियन्ता, अग्रज स्रष्टा हर्कमान तामाङका बारेका तयार पारेको पुस्तकको बिक्रीबाट प्राप्त भएको कम्तीमा ५० प्रतिशत रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमबाट अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने कुरा यसअघि नै पत्रकार सम्मेलन गरेर घोषणा गरेका थिए । उनले पहिलो चरणमा बेलबारी बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट अनुसन्धान गर्ने कम्तीमा एक जना विद्यार्थीलाई पुरस्कृत गरिने र दोस्रो चरणमा भने राष्ट्रिस्तरका अनुसन्धातालाई पुरस्कृत गर्ने गरिएको कोष तयार पारिने बताए ।
बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह आयोजनामा सम्पन्न कार्यक्रममा कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
लोकार्पण कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, स्रष्टा एवम् पूर्व सांसद हर्कमान तामाङ, कवि एवम् समीक्षक मिश्र वैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य (आचार्य अ.), भाषाविद् मेदिनीप्रसाद बराल, कवि तथा अन्वेषक अनिल पौडेल, राजनीतिक व्यक्तित्व विनोद भण्डारी, डा. उद्धव पोखरेल, स्रष्टा छवि वैरागी घिमिरे, ईरान राईलगायतका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेको समीक्षा रहेको थियो । उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा अन्वेषक अनिल पौडेल, मिश्र बैजयन्ती, डा. उद्धव पोखरेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्व विनोद भण्डारी, ईरान राईलगायतका व्यक्तिहरूले कृतिकार विरही तथा उनले सुरु गरेको अनुसन्धान अक्षयकोष अभियानलाई शुभकामना दिएका थिए ।
पठन संस्कृति हराउँदै गइरहेको त्यसमा नेपाली साहित्यका कृतिहरू सित्तैमा उपहार स्वरूप बाँडेर सक्नुपर्ने बाध्यता भइरहेको बेलामा बेलबारीबाट चलाएको यस अभियानले नेपाली साहित्यका पाठकमा एउटा आशाको सञ्चार गरेको धेरैको बुझाइ रहेको छ । धेरैले यस अभियानको खुलेर प्रशंसा गरेका छन् । कार्यक्रम करिब ३ घण्टासम्म चलेको थियो। उक्त कार्यक्रमलाई कुशल प्रस्तोता नवराज पोखरेल नवशिलाले सञ्चालन गरेका थिए।




































