काठमाडौं – शिक्षकको सडक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त बनेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले मुख्य सडक बन्द गराएपछि यातायात सेवा अस्तव्यस्त बनेको हो ।
शिक्षकहरुले २१ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रसम्मको यातायात सेवा प्रभावित भएको छ ।
निरन्तरको आन्दोलनका कारण बानेश्वर–माइतीघर क्षेत्रको मुख्य सडक नै बन्द छ । यसको असर अन्य क्षेत्रमा पनि परेको छ । शिक्षकको आन्दोलनका कारण यो क्षेत्र नै ठप्प भएको छ ।
मुख्यसडक बन्द भएपछि सार्वजनिक सवारी साधानलाई तीनकुनेबाट बानेश्वरतर्फ आउन रोक लगाइएको छ । साना सवारी साधनसमेत डाइभर्ट गरिएपछि करिडोरमा लामो जाम लाग्ने गरेको छ ।