विराटनगर ÷ नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाट गरेको छ ।
मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गर्नुभएको थियो । किम जोङथेकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो । टोलीले आगामी दिनमा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसँगै गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्रीसँगै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विगत दुई दशकदेखि कोरियामा व्यवसायसँगै समाजसेवामा सक्रिय नवराज शिवाकोटीको समन्वयमा आएको द होप सेन्टरको टोली र महानगरबीच आगामी दिनमा शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने सहमति भएको छ ।
सो अवसरमा मेयर कोइरालाले कोरिया र नेपालबीच पुरानो सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले दक्षिण कोरियाले कृषि, प्रविधि, शिक्षा र स्वास्थ्यमा गरेको प्रगति अनुशरणीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

तपाईको प्रतिक्रिया