काठमाण्डौ – नेपाल कृषि अनुसन्धान परिषद नार्कले ३४औं स्थापना दिवस मनाउँदैछ । वि.सं. २०४८ सालमा ‘नेपाल कृषि अनुसन्धान परिषद् ऐन’ अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो ।
नार्कले विगत ३४ वर्षको अवधिमा नेपाली कृषि प्रणालीलाई प्रविधिमैत्री, उत्पादनमुखी र रोग सहनशील बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नार्कका अनुसार स्थापना यता अहिलेसम्म ८६ बालीका आठ सय ३७ उन्नत जातहरू सिफारिश भइसकेका छन् ।
सिफारिश गरिएका जातहरुमा धानका ३५ प्रतिशत, मकैका ७३ प्रतिशत, गहुँका ९४ प्रतिशत, मुसुरोका ६० प्रतिशत र आलुका ४६ प्रतिशत अनुशरण भएको नार्कले जनाएको छ ।
नार्कले १६औं पञ्चवर्षीय योजनामार्फत कृषि अनुसन्धान, शिक्षा, प्रविधि हस्तान्तरण र जैविक विविधता संरक्षणलाई संस्थागतरूपमा सुदृढ बनाउने रणनीति अघि सारेको छ ।
योजनामा नीति तथा संरचना पुनर्संरचना, स्थानीय ज्ञान र जैविक सम्पदाको आधुनिकीकरण, निर्यात लक्षित अनुसन्धान, तथा ‘डिजिटल नार्क’ अभियान मुख्य छन् ।
वार्षिकोत्सवको अवसरमा नार्कले कृषिमा अनुसन्धान, प्रविधि र ज्ञानको संयोजनमार्फत देशको खाद्य सुरक्षा, पोषण सुधार र समृद्धि हासिल गर्न सघाउने प्रतिबद्धता जनाएको छ ।