विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला तीन जनालाई करेन्ट लागेको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको हो । घटनामा ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।
बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइननजिकै हरियो गाडिएको बाँस राति आएको हावाहुरीले ढलेर हाइटेन्सन लाइनमा ठोक्किएको थियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । राधाकुमारी सिंह भने नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्किएकी छन् ।