काठमाडौं। नेपालको ईतिहासमा नै नीलम ढुंगानाको नाम पहिलो कायमुकायम गभर्नरको रुपमा अंकित छ । अव पूर्ण गभर्नर बन्ने बाटोमा लागेको छ ।
तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल पूरा भएपछि कायम मुकायम गभर्नरको रुपमा नीलम ढुंगाना तिम्सिनाको नेतृत्व नेपाल राष्ट्र बैंकमा छ । कामकाज चुस्त ढंगले अघि बढिरहेको बैंकको गभर्नर भने राजनीतिक भागवण्डाका कारण अड्किएको छ । नयाँ ईतिहास बन्ने कारण पनि आगामी गभर्नर नीलम बन्नेमा कुनै शंका छैन । तर, केही बिचौलियाले जस लिनका लागि अनेक वहाना बनाईरहेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।
डा. नीलमले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहमा महिलामा पहिलो र समग्रमा दोस्रो स्थान प्राप्त गरेकी थिइन् ।
२०५४ सालमा राष्ट्र बैंकमा सहायक अधिकृतको रूपमा नियुक्त भएर अनवरत सेवा गरिरहेको अनुभव नीलमसँग छ ।
राष्ट्र बैंकमा प्रवेश गरेपछि नीलमले विभिन्न विभागहरूमा कार्य गर्दै आफ्नो दक्षता प्रमाणित गरेको देखिन्छ । उनले विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान, आन्तरिक लेखा परीक्षण, मौद्रिक व्यवस्थापन, बैंक सुपरिवेक्षण लगायतका विभागहरूमा कार्य अनुभव हासिल गरिन् । विशेष गरी आर्थिक अनुसन्धान विभागमा उनले करिब ११ वर्ष बिताइन् ।
उनको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा २०७४ साल फागुन २५ गते कार्यकारी निर्देशकमा बढुवा भइन् । त्यसपछि २०७७ साल फागुनमा नेपाल राष्ट्र बैंकको इतिहासमै पहिलो महिला डेपुटी गभर्नरको रूपमा नियुक्त भइन् ।
डा. नीलमले लघुवित्त कार्यक्रमहरू मार्फत ग्रामीण महिलाहरूलाई उत्पादनशील बनाउने कार्यमा विशेष ध्यान दिएको बताईन्छ । उनले लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक उत्थान, लैङ्गिक असमानता न्यून गर्ने, महिला सशक्तीकरणमा टेवा दिने र आर्थिक असमानता कम गर्न मद्दत गरेको उनको धारणा छ ।
डा. निलमको जीवन यात्रा निरन्तर संघर्ष, प्रतिबद्धता र आत्मविश्वासको उदाहरण हो । उनले विभिन्न चुनौतीहरू पार गर्दै राष्ट्र बैंकको उच्चतम तहसम्मको यात्रा तय गरेकी छन्। उनको नेतृत्वले नेपाली महिलाहरूलाई उच्च पदहरूमा पुग्न प्रेरणा प्रदान गरेको छ ।
नीलमले देखाएको निडरता, प्रतिबद्धता र नेतृत्वले नेपाल राष्ट्र बैंकलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई नयाँ दिशा प्रदान गरेको छ । उनी साँच्चै एक निडर महिला नेतृ हुन्, जसको योगदान सदैव स्मरणीय रहनेछ ।
यो बीचमा उनलाई बिभिन्न दवाव आएको सञ्चारमाध्यमले लेखिरहेका छन् । तर, यो बिषयमा उनी मौन छिन् । कार्यालयका सवै काम गरिरहेको भएपनि उनलाई एउटा आरोप भने पेचिलो रुपमा लागेको छ । कार्यकारी निर्देशकमा रहेका गुणाकरण भट्टको राजीनामा स्विकृत नगरेको बिषयमा सञ्चारमाध्यम बिभाजित भएका छन् । उनले औपचारिकरुपमा धारणा सार्वजनिक नगरेपनि भेट्न जानेहरुलाई भने राजीनामा स्विकृत गर्ने बिषयमा आफ्ना कुरा भन्ने गरेकी छिन् । राष्ट्र बैंकका कर्मचारीले भटाभट राजीनामा गर्दै जाने हो भने काम कसरी गर्ने भन्ने बिषयमा चिन्ता गर्नेगरेको ढुंगानालाई भेट्नेहरु बताउँछन् ।
त्यसोत यस अघि पनि कायम मुकायम गर्भनरलाई गभर्नर बनाउनु पर्ने महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णयको नजिरले पनि नीलमलाई थप बलियो बनाएको छ ।
तत्कालिन समयमा काँग्रेस र एमालेको संयुक्त सरकार थियो । त्यो बेला पनि गभर्नर नियुक्तिमा यस्तै बिवाद हुँदा महान्यायाधीवक्ता कार्यालयको राय लिएर सिफारिसको एक नम्वरमा रहेका युवराज खतिवडालाई पन्छाएर दुई नम्वर सिफारिसमा परेका बिजयनाथ भट्टराईलाई गर्भनर नियुक्त गरिएको थियो । त्यतिबेला बाहिरी मान्छे गभर्नर नियुक्त नगर्न माहान्यायाधीवक्ता कार्यालयले सुझाव दिएको थियो ।
त्यतिवेला काँग्रेस बाट शेरवहादुर देउवा प्रधानमन्त्री थिए भने एमाले बाट भरतमोहन अधिकारी अर्थमन्त्री थिए । प्रधानमन्त्री बिजयनाथको पक्षमा थिए अनि अर्थमन्त्री युवराज खतिवडाको पक्षमा थिए । अहिले प्रधानमन्त्री र अर्थमन्त्री नै नेकपा एमालेका छन् । पक्कै पनि उनीहरु आफ्नै पक्षका गभर्नर नियुक्त गर्न चाहन्छन् ।
मन्त्रिपरिषद्ले चैत ११ मा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य थिए । समितिमा रहेका भट्टराईले केही दिन अघि र बिश्व पौडेलले आईतवार राजीनामा दिएका छन् । बिजयनाथको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य वनाईएपनि उनको बिषयमा सर्वोच्चमा उजुरी परेको छ ।
देशको सर्वोच्च पदमा महिलाको नेतृत्व भईसकेको छ । राष्ट्रपतिको रुपमा बिद्यादेवी भण्डारीले दुईपटक नेतृत्व गरेकी छिन् । सभामुख बनेर ओनसरी घर्तीले ईतिहास बनाएकी छिन् । न्यायालयको सर्वोच्च पद प्रधानन्यायाधीशको कुर्सीमा पनि शुशीला कार्की बसिसकेकी छिन् । मुख्य सचिवको कुर्सीमा लीलादेबी गड्तौलाले ईतिहास बनाएको पनि भर्खरै हो ।
अहिले देशको प्रमुख ढुकुटी नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको कुर्सीमा नीलम ढुंगाना तिम्सिना पुगेकी छिन् । बिगतको नजिरले पनि नीलम गर्भनरको कुर्सीमा पुग्ने निश्चित जस्तै छ । त्यसकारण पनि नीलम निडर बनेको आर्थिक बिश्लेषकहरु बताउँछन् ।
महान्यायाधीवक्ता कार्यालयले यस्तो नजिर स्थापित गरिदिएको छ ।
‘नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिका लागि सिफारिस पेश गर्न गठित समितिले सिफारिस पेश गर्दा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५९३० बमोजिम आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरू मध्येबाट तीन जनाको नामावली मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्थाबाट नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर भन्दा बाहेकका अन्य बहालवाला कर्मचारीलाई सिफारिस गर्नु उक्त कानूनी व्यवस्था अनुसार कानून सम्मत हुने नदेखिएको व्यहोरा आदेशानुसार सादर अनुरोध गरिन्छ’ महान्यायाधिवक्ता कार्यालयले दिएको जवाफमा भनिएको थियो । यसकारण पनि कायममुकायम गभर्नर नै गभर्नर बनाउन कसैको विमती छैन भन्ने स्पष्ट हुन्छ ।
हुनत राजनीतिक सहमति नभएका कारण नयाँ गर्भनरको नियुक्ती हुन ढिलाई भएको हो । तर, महिला गर्भनर बनाउने बिषयमा कसैको असहमति नरहेको बताईन्छ । अन्य संबैधानिक पदमा पनि सत्तारुढ दलमा भागबण्डा नमिलेका कारण ढिलाई भएको हो । हाल निर्वाचन आयोगका प्रमुख आयुक्त रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलयातका धेरै पद केही समयमा नै रिक्त हुँदैछ । सत्तारुढ दल यी सवै पदमा प्याकेजमै सहमति गर्ने योजनामा रहेका छन् ।
-साभार : रामचन्द्र कार्की , सिंधदरवार न्युज