ओमान क्रिकेटले अन्ततः गएको वर्षको टी–२० विश्वकपमा सहभागी भएका खेलाडीहरूको बक्यौता तिर्न सहमति जनाएको छ ।
ओमानले आफ्नो पुरुष टी–२० विश्वकप टोलीका सदस्यहरूलाई प्रतियोगिताबाट पाउनुपर्ने पुरस्कार रकम तिर्न सहमति जनाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । ओमान क्रिकेटले बक्यौता तिर्नमा भएको लामो ढिलाइ प्रक्रियात्मक भएको दाबी गरेको छ ।
ओमान क्रिकेटले विज्ञप्ति निकालेर आउँदो जुलाईसम्ममा टोली र सहयोगी कर्मचारीहरूलाई २ लाख २५ हजार अमेरिकी डलर रकम वितरण गरिने बताएको खबरमा उल्लेख छ ।
सन् २०२४ मा अमेरिका र क्यारेबियनमा आयोजना भएको टी–२० विश्वकपको एक वर्षपछि पनि ओमानका खेलाडीहरूले भुक्तानी नपाएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने प्रतियोगितामा सहभागी बोर्डहरूले आईसीसीबाट पुरस्कार रकम प्राप्त गरेको २१ दिनभित्र खेलाडीहरूलाई वितरण गरिसक्नुपर्ने शर्त राखिएको छ ।