घरेलु टोली इङ्ग्ल्यान्डसँग बर्मिङ्घममा भइरहेको दोस्रो टेस्टको पहिलो पारीमा भारतीय कप्तान शुभमन गिलले ऐतिहासिक २ सय ६९ रन बनाउँदै विभिन्न कीर्तिमान तोडेका छन् ।

यो रन टेस्टमा भारतीय कप्तानले बनाएको अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०१९ मा पुनेमा दक्षिण अफ्रिकासँगको खेलमा विराट कोहलीले नटआउट २ सय ५४ रन बनाएका थिए ।

यस्तै गिलको २ सय ६९ रन एशियाबाहिर कुनै पनि भारतीय ब्याटरले बनाएको सबैभन्दा धेरै रन हो । यसअघि सन् २००४ मा सिड्नीमा अस्ट्रेलियासँगको खेलमा सचिन तेन्दुलकरले नटआउट २ सय ४९ रन बनाएका थिए ।

यस्तै घरबाहिर भएको टेस्टमा भारतीय ब्याटरले बनाएको सबैभन्दा धेरै रन हो । यसअघि सन् २००४ मा पाकिस्तानसँगको खेलमा मुल्तानमा वीरेन्द्र सहवागले ३ सय ९ र राहुल द्रभिडले २ सय ७० रन बनाएका थिए ।

यस्तै गिलभन्दा अघि इङ्ग्ल्यान्डमा केवल दुई जना भारतीयले दोहोरो शतक बनाएका थिए । यसअघि सन् १९७९ मा सुनिल गाभस्करले २ सय २१ र सन् २००२ मा राहुल द्रभिडले २ सय १७ रन बनाएका थिए । दुवै ब्याटरले ओभलमा शतक बनाएका थिए ।

समग्रमा गिलको २ सय ६९ रन टेस्ट क्रिकेटमा भारतका लागि सातौं सर्वाधिक व्यक्तिगत रन हो ।

बर्मिङ्घममा भएको टेस्टमा यसअघि दुई जना विदेशी ब्याटरले दोहोरो शतक बनाएका थिए । सन् २००३ मा दक्षिण अफ्रिकाका ग्राम स्मिथले २ सय ७७ रन र सन् १९७१ मा पाकिस्तानका जहीर अब्बासले २ सय ७४ रन बनाएका थिए ।

गिलको २६९ रन इङ्ग्ल्यान्डमा विदेशी ब्याटरले बनाएको आठौं सर्वाधिक रन हो ।

कप्तानका रूपमा पहिलो दुई टेस्टमा शतक बनाउने गिल सातौं ब्याटर बनेका छन् । पछिल्ला ६ मध्ये ३ जना भारतीय छन् जसमा विजय हजारे, सुनिल गाभस्कर र विराट कोहली समावेश छन् । यस्तै दक्षिण अफ्रिकाका ज्याकी म्याकग्लु, इङ्ग्ल्यान्डका एलिस्टेयर कुक र अस्ट्रेलियाका स्टिभ स्मिथ छन् ।

योसँगै ५ जना ब्याटरले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दुवैमा दोहोरो शतक बनाएका छन् । गिलसहित सचिन तेन्दुलकर, वीरेन्द्र सहवाग, रोहित शर्मा र क्रिस गेलले दुवै फर्म्याटमा दोहोरो शतक बनाएका छन् ।

विपक्षी टोलीले पहिलो ब्याटिङ गर्न निम्ता दिएपछि गिलको २ सय ६९ रन भारतीय ब्याटरले बनाएको सबैभन्दा धेरै रन हो ।

तपाईको प्रतिक्रिया