काठमाण्डाै – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबल खेल्न बङ्गलादेश जाने नेपाली टोलीको बिदाइ भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतको उपस्थिति थियो ।
चार वटा देश सहभागी २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो शुक्रवारदेखि साउन ५ गतेसम्म बङ्गलादेशमा हुँदैछ । प्रतियोगितामा नेपाल, पूर्वविजेता तथा आयोजक बङ्गलादेशसहित भूटान र श्रीलङ्का सहभागी छन् । प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई पटक खेलपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
नेपालले आउँदो शुक्रवार भूटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यो प्रतियोगितालाई नेपालले एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटको तयारीका रूपमा लिएको छ ।