सस्पेन्स र थ्रिलले भरिएको नेपाली फिल्म ‘अभिमन्यु’ को प्रदर्शन मिति फेरि एक पटक सरेको छ । यसअघि साउन २३, भदौ २७ र असोज २४ गते रिलिज हुने भनिएको फिल्म अब आगामी कात्तिक २१ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।
निर्माण टिमका अनुसार हालको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएपछि दर्शकको सहज पहुँच र सुरक्षित माहोल सुनिश्चित गर्न मिति सारिएको हो । निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “दर्शकले सहज र सुरक्षित वातावरणमा फिल्म हेर्न सकून् भन्ने हाम्रो चाहना हो । यही कारणले रिलिज मिति पर सारिएको हो । अब भने कात्तिक २१ बाट ‘अभिमन्यु’ नसरिनेछ।”
उक्त मितिमा ‘अभिमन्यु’सँगै ‘जारी २’ र ‘मन बिनाको धन’ पनि प्रदर्शनमा आउनेछन्, जसले बक्सअफिसमा रोचक प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यो फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । नेपाली र हिन्दी दुबै भाषामा बनेको फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ र शिशिर वाङ्देलको दमदार अभिनय रहेको छ ।
फिल्मले प्रलोभनको चक्रव्यूहमा फसेको र त्यहाँबाट उम्किन संघर्ष गर्ने व्यक्तिको कथालाई सस्पेन्सपूर्ण ढंगले प्रस्तुत गरेको छ । मुकेश खनालको लेखन रहेको यस फिल्ममा निर्माता विनोद पौडेल र गुञ्जन गिरी छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माताको भूमिकामा छन् ।
फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यसमा शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ ।
‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सर्वकालीन ब्लकबस्टर निर्माण गरिसकेका निर्माता पौडेलले यस पटक पनि ‘अभिमन्यु’बाट दर्शकलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरेका छन् ।