अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै सुपरहिटतर्फ अघि बढेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, फिल्मले ९ दिनमा ३ करोड ७१ लाख ३६ हजार रुपैयाँ ग्रस आम्दानी गरेको छ त्यस्तै शनिबार मात्रै फिल्मले १ करोड २० लाख रुपैयाँ कमाउँदै आफ्नो व्यापारिक यात्रा मजबुत बनाएको छ ।
तिहारको अवसरमा प्रदर्शनमा आएका अन्य चार फिल्महरूको पनि बोर्डले कात्तिक २२ गतेसम्मको रिपोर्ट सार्वजनिक गरेको छ । तीमध्ये ‘जेरी अन टप’ ले ११ करोड ७१ लाख ४१ हजार रुपैयाँ कमाउँदै शीर्षस्थान सुरक्षित गरेको छ । यससँगै फिल्मले यस वर्षको सर्वाधिक कमाउने फिल्म ‘ऊनको स्वीटर’ को रेकर्ड तोड्दै नयाँ कीर्तिमान स्थापित गरेको छ ।
त्यस्तै, ‘वरिष्ठ बलराम’ ले २ करोड ५६ लाख रुपैयाँभन्दा बढी, ‘मैझारो’ ले १ करोड ४ लाख र ‘सोल्टिनी’ ले २९ लाख रुपैयाँको व्यापार गरेको बोर्डले जनाएको छ । यसरी हेर्दा तिहार अवधिमा प्रदर्शन भएका चार फिल्महरूले जम्मा साढे १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्, जसले नेपाली बक्स अफिसलाई फेस्टिभल सिजनमा निकै उत्साहित बनाएको छ ।
यसैबीच, गत शुक्रबारबाट प्रदर्शनमा आएका नयाँ फिल्महरू ‘जारी २’ र ‘मन बिनाको धन’ को बक्स अफिस रिपोर्ट भने बोर्डले अझै सार्वजनिक गरेको छैन । बुझिए अनुसार, यी दुवै फिल्मको व्यापारिक विवरण अर्को सोमबार सार्वजनिक गरिनेछ । चलचित्र विकास बोर्डले दशैंदेखि हरेक सोमबार नेपाली फिल्महरूको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न थालेको छ, जसले फिल्म उद्योगमा पारदर्शिता र विश्वसनीयता बढाउन सकारात्मक भूमिका खेलेको छ ।







































































