निर्देशक चन्द्र पन्तले निर्देशन गरेको बहुप्रतिक्षित फिल्म ‘आ बाट आमा’ को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक गरिएका दुई पोस्टरहरूले फिल्मका मुख्य पात्रहरूको भावनात्मक मनोदशा उजागर गर्दै कथावस्तुमा समेटिएको रहर र बाध्यताको द्वन्द्वलाई संकेत गरेका छन् भने पोस्टरमा गाउँ र विदेशका दृश्यहरूलाई पृष्ठभूमिमा प्रयोग गरिएको छ, जसले फिल्मको कथा भित्र आमा-बाबु र सन्तानबीचको भावनात्मक सम्बन्धमा आधारित रहेको स्पष्ट गर्छ।

मुख्य कलाकारहरूमा विपना थापा, प्रदीप रावत (गजनीका भिलेन), पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेती रहेका छन्। विशेषगरी पल शाह दुई फरक लुक्समा देखिएका छन् एकमा लामो कपाल भने अर्कोमा छोटो  जसले फिल्ममा उनको दोहोरो भूमिकाको सम्भावनालाई थप प्रबल बनाएको छ। यस भावनात्मक कथामा विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दीलिप उखेडा र रचना गौतम पनि देखिनेछन् भने यो  फिल्मको कथा निर्देशक चन्द्र पन्तकै लेखनमा तयार गरिएको छ ।

ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गानाले फिल्म निर्माण गरेका हुन् भने आर्या  इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा नवराज उप्रेतीको छायांकन, कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ।

शहीद दिवसको अवसर पारेर माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार पहिले नै बिक्री भइसकेको छ। फिल्मले परिवार, विदेशप्रेम र आमा–सन्तानबीचको आत्मीय सम्बन्धलाई पर्दामा प्रस्तुत गर्दै दर्शकको मन छुने अपेक्षा सहित गरेको छ ।

तपाईको प्रतिक्रिया