नीर शाह स्टारर बहुप्रतिक्षित फिल्म ‘परान’ ले लगातार दोस्रो सातासम्म पनि घरेलु बक्सअफिसमा आफूलाई मजबुत राख्दै आक्रामक व्यापार गरिरहेको छ। २९ कात्तिकसम्मका १६ दिनमा फिल्मले ९ करोड ८६ लाख रुपैयाँ ग्रस कमाइ गरेको सिनेपाः बक्सअफिस तथ्यांकले देखाएको छ भने यस अवधिमा फिल्मको ३ लाख ४७ हजार १७५ टिकट विक्री भइसकेको छ, जुन नेपाली फिल्मका लागि उल्लेखनीय मानिन्छ।
आइतबार प्राप्त थप कमाइ जोडिएसँगै ‘परान’ले कूल ग्रस १० करोड नाघेको उत्पादनतर्फका स्रोतले जनाएका छन्। तथापि, चलचित्र विकास बोर्डले भने यसबारे आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।
निर्देशक दीपक आचार्य काकुको निर्देशनमा बनेको फिल्ममा दिग्गज कलाकार नीर शाहसँगै महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, पूजा चन्दलगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ। सबै वर्गका दर्शकबाट सकारात्मक प्रतिक्रियासँगै ‘परान’लाई अझै केही दिन उच्च कारोबार कायम गर्ने अनुमान गरिएको छ।




































