मङ्सिर १२ गते अर्थात यही शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘हर्ष’ को आज काठमाडौंमा भव्य ग्रान्ड प्रिमियर सम्पन्न भएको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा फिल्मका कलाकार, निर्देशक, निर्माण टिम, सञ्चारकर्मी तथा फिल्मकर्मीहरूको उल्लेखनीय उपस्थितिले माहोल उत्साहपूर्ण बनेको थियो।
ग्रान्ड प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री बर्षा राउत , बहुआयामिक कलाकार खगेन्द्र प्रसाद लामिछाने तथा फिल्मकी निर्देशक एकता पोख्रेल सहित सम्पूर्ण टिम उपस्थित रहेको थियो भने फिल्मका मुख्य कलाकार र निर्माण पक्षले प्रदर्शनपूर्वै दर्शक तथा समर्थकप्रति कृतज्ञता व्यक्त गर्दै फिल्मप्रतिको आत्मविश्वास पनि प्रकट गरे।
शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘हर्ष’लाई प्रिमियरमा सहभागी अतिथिहरूले सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ भने फिल्मले नयाँ कथावस्तु, उत्कृष्ट अभिनय र सशक्त निर्देशनको बलमा दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।




































