पुष ४ गते बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ रिलिजअघि नै चर्चाको शिखरमा पुगेको छ त्यस्तै बलियो स्टारकास्ट, अनुभवी निर्देशक र अब काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप—यी सबै कारणले फिल्मले दर्शकको ध्यान तान्न सफल भएको छ ।
आइतबार साँझ सार्वजनिक गरिएको बालेन शाहको र्याप गीत ‘आम नेपाली बुवा’ ले छोटो समयमै युट्युबमा उल्लेखनीय सफलता हासिल गरेको छ । शाहकै आधिकारिक युट्युब च्यानलबाट रिलिज भएको यो गीतले २४ घन्टामै १० लाख भ्यूज बटुलेको थियो, जुन नेपाली फिल्मका गीतका लागि दुर्लभ मानिन्छ । समाचार तयार पार्दासम्म गीतलाई युट्युबमा झन्डै १.६ मिलियन पटक हेरिसकिएको छ भने कमेन्ट सेक्सन प्रशंसाले भरिएको छ । अधिकांश दर्शकले बालेन शाहको प्रस्तुतिलाई खुलेर सराहना गरेका छन् ।
चर्चित हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको यस फिल्ममा अर्जुन स्वयंका साथै गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली लगायतको अभिनय रहेको छ भने अभिनेता गणेश उप्रेती ले करिब ९ वर्षपछि यही फिल्मबाट अभिनयमा कमब्याक गरेका हुन् ।
निर्देशक घिमिरेकै कथामा बनेको फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेल ले डेब्यु गरेका छन् । जेसिका, अभिनेत्री दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकार दिप्सन चिलवाल को पनि फिल्ममा अभिनय देख्न सकिन्छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरे ले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको यस फिल्मका छायाँकार बुद्ध थापा हुन् । त्यस्तै रिलिजअघि नै संगीत, सन्देश र कलाकारिताले चर्चा बटुल्न सफल ‘झरीपछिको इन्द्रेणी’ ले अब हलमा कस्तो इन्द्रेणी कोर्छ भन्ने चासो दर्शकमाझ बढ्दै गएको छ ।



































