‘कुमारी’ फिलमको दोस्रो गीत ‘तिमी बिना’ शुक्रबार सार्वजनिक गरिएको छ । रिलिज हुनासाथ दर्शकको राम्रो साथ पाएको यो गीतले एक दिनमा तीन लाख पचास हजारभन्दा बढी भ्युज बटुल्न सफल भएको छ ।
भावनात्मक प्रेमकथामा आधारित यो गीतले मायामा टाढिनुपर्दाको पीडा र भावनालाई प्रस्तुत गरेको छ भने गीतको शब्द, संगीत र गायनले दर्शकको मन छोएको देखिन्छ त्यस्तै गीतमा फिल्मका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ, जसले कथाको भावनालाई अझ बलियो बनाएको छ ।
‘कुमारी’ फिल्ममार्फत दुवै कलाकारले मुख्य भूमिकामा डेब्यु गरेका हुन् भने फिल्मको निर्देशन ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथा निर्देशन गरिसकेका निर्देशकले गरेका छन् । यसअघि सार्वजनिक भएका सामग्री र अहिले रिलिज भएको गीतले फिल्मप्रति दर्शकको उत्सुकता बढाउँदै लगेको छ ।
संगीत, प्रेम र भावनाको सुन्दर संयोजन प्रस्तुत गर्ने ‘कुमारी’ आगामी दिनमा प्रदर्शनको तयारीमा रहेको छ र गीतले पाएको सकारात्मक प्रतिक्रिया र बढ्दो भ्युजले फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरेको छ ।




































