जनवरी १ यथार्थ नयाँ वर्ष २०२६ को अवसर पारेर नेपाली म्युजिक भिडियो ‘प्रार्थना’ सार्वजनिक हुने तयारीमा छ भने टिजर र पोस्टर रिलिज भएसँगै यस भिडियोले सामाजिक सञ्जालमा सकारात्मक चर्चा बटुल्दै दर्शकमाझ उत्सुकता पैदा गरिरहेको छ। रोशनी कार्की र प्रज्वल दुलालको मुख्य अभिनय रहेको ‘प्रार्थना’ भावनात्मक कथामा आधारित म्युजिक भिडियो हो। जसमा सन्देश भुर्तेल र प्रताप नेपालीले संयुक्त रूपमा कथा, लेखन तथा निर्देशन सम्हालेका छन्।
भिडियोको कथा एक युवकको दृष्टिकोणबाट अगाडि बढ्छ, जहाँ एक केटा–केटीको सम्बन्धलाई तीन फरक चरण (फेज)प्रेम, दूरी र आत्मबोध मार्फत संवेदनशील ढंगले प्रस्तुत गरिएको छ।
छायांकनमा निरज शर्माले क्यामेरा सम्हालेका छन् भने अन्डरएक्सपोज सिनेमा प्रोडक्सनले भिडियो निर्माण गरेको हो। पोस्ट–प्रोडक्सन पक्षमा उषा कार्कीको सम्पादन र धीरज अधिकारीको कलर ग्रेडिङले कथाको भावनात्मक गहिराइलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ भने प्रकाश व्यवस्थापन को जिम्मेवारी बिकास गन्धर्वले सम्हालेका छन्।
संगीतकार समिर ठकुरीको संगीतमा मधुर स्वर प्रस्तुत गरिएको छ भने ध्वनी सम्पादनमार्फत संगीतकार समिर कार्कीले गीतलाई अन्तिम रूप दिएका छन्। त्यस्तै टिजर र पोस्टरले देखाएअनुसार ‘प्रार्थना’ केवल प्रेमकथामा सीमित नभई, समयसँगै बदलिँदो सम्बन्ध, मनोविज्ञान र अनुभूतिहरूको कलात्मक प्रतिनिधित्व गर्ने म्युजिक भिडियो बन्ने संकेत गर्छ। नयाँ वर्ष २०२६ को सुरुवातसँगै सार्वजनिक हुने तयारीमा रहेको ‘प्रार्थना’ ले नेपाली म्युजिक भिडियो प्रेमीहरूलाई फरक, गहिरो र भावनात्मक अनुभव दिने विश्वास छ।



































