नेपाली फिल्म ‘मोक्ष’पछि १२ वर्ष लामो अन्तरालमा निर्देशक प्रवीण श्रेष्ठ निर्देशनमा फर्किएका छन् तर उनको कमब्याक फिल्म ‘बब डाइ’ को छायांकन बिहीबार कीर्तिपुरमा अन्तिम दृश्य खिच्दै औपचारिक रूपमा सम्पन्न भएको छ जसमा जम्मा ४२ दिन लगाएर फिल्मको सम्पूर्ण दृश्य खिचिएको हो। छायांकनको सुरुवात चन्द्रागिरी क्षेत्रबाट गरिएको यस फिल्मले पछि कीर्तिपुरलाई आफ्नो मुख्य लोकेसन बनायो । स्क्रिप्टअनुसारका सबै दृश्य खिचिए पनि, फिल्मका दुई गीत भने अझै छायांकन हुन बाँकी रहेको निर्माण पक्षले जनाएको छ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा बनेको यस फिल्ममा सौगात मल्ल, सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, यमन श्रेष्ठ र कृष्णभक्त महर्जन लगायत कलाकारहरूको अभिनय छ। फिल्ममा सौगात मल्लले शीर्ष भूमिका ‘बब डाइ’ निभाएका छन्।
राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको फिल्मको कथा तथा पटकथा मैनिषा गौचन र प्रवीण श्रेष्ठले लेखेका हुन् भने छायांकनको जिम्मा श्याम तामाङले सम्हालेका छन् भने सम्पादन निर्देशक श्रेष्ठ स्वयंले गर्नेछन् । त्यस्तै कोरियोग्राफीमा किरण थापा र सृष्टि महर्जन, द्वन्द्व निर्देशनमा शंकर महर्जन रहेका छन्। निर्माण टिमका अनुसार ‘बब डाइ’ ले कीर्तिपुरको मौलिक संस्कृति, जीवनशैली र कथालाई पर्दामा उतार्नेछ, जसले दर्शकलाई फरक स्वाद दिनेछ ।




































