हास्य कलाकारका रूपमा लोकप्रिय मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्बे अब निर्देशकका रूपमा पनि दर्शकमाझ आएका छन्। उनको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले गाउँबाट सहर छिरेको एक साधारण पात्रको असाधारण संघर्ष कथा बोल्छ। ट्रेलरमा गाउँले जीवनबाट ठूला सपना बोकेर काठमाडौं पसेको पात्रले भोग्नुपरेका यथार्थ चुनौतीलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ।
सहर छिर्दा देखिएका सपना कसरी क्रमशः चकनाचुर हुन्छन् भन्ने कटु सत्यसँगै आमा–छोराबीचको गहिरो भावनात्मक सम्बन्ध पनि ट्रेलरको मुख्य आकर्षण बनेको छ। आम नेपाली युवाले देख्ने आशा, गर्ने संघर्ष र अन्ततः भोग्ने निराशालाई फिल्मले यथार्थपरक रूपमा चित्रण गर्ने संकेत ट्रेलरले दिएको छ। आगामी माघ १ गतेदेखि देशभर प्रदर्शन हुने यस फिल्ममा निर्देशक मरिचमान श्रेष्ठ आफैंसहित वर्षा सिवाकोटी, निर्मल शर्मा, पदम तामाङ, पुजन घिमिरे, विनोद न्यौपाने, सन्तोष बानियाँ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ। यही फिल्ममार्फत मरिचमानले निर्देशनमा डेब्यु गरेका हुन्।
बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण भएको ‘गोबर गणेश’मा शिवराम श्रेष्ठको छायांकन, योगेशकाजी शाहको ब्याकग्राउन्ड म्युजिक, कृष्ण केसी, योगेशकाजी शाह र बाबुल गिरीको संगीत, विपिन मल्लको सम्पादन तथा विक्रम विष्टको कोरियोग्राफी रहेको छ। नेपालभर फिल्मको वितरण अधिकार मनोज राठी र उज्ज्वल पौडेल समूहको श्री वैंकेटस इन्टरटेनमेन्टले लिएको छ।




































