कलाको संसारमा कहिलेकाहीँ यस्ता संयोगहरू घट्छन्, जसले उपस्थित सबैको मन गहिरोसँग छुन्छ । आज विराटनगरस्थित सेन्ट्रल मल्टिप्लेक्समा फिल्म ‘लडाइँ पहिचानको’ को विशेष प्रदर्शनका क्रममा त्यस्तै एक हृदयविदारक संयोग घट्यो । फिल्म चलिरहेकै बेला पर्दामा प्रमुख पात्र प्रशान्त तामाङको मृत्यु दृश्य प्रस्तुत भइरहँदा, वास्तविक जीवनमा पनि उनको निधनको खबर हलभित्र आइपुग्यो । इन्डियन आइडल विजेता तथा फिल्मका मुख्य कलाकार प्रशान्त तामाङको भारतको नयाँ दिल्लीस्थित निवासमा निधन भएको सूचना शो चलिरहेको समयमा प्राप्त भएपछि, उत्साहले भरिएको हल एकाएक स्तब्ध बन्यो ।

‘रिल’ र ‘रियल’ दुवै जीवनमा कलाकारको एकैसाथ अन्त्य भएको खबरले दर्शक र फिल्म युनिटका सदस्यहरू भावुक बने भने फिल्म सकिएलगत्तै सम्पूर्ण हलले एक मिनेट मौन धारण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको दृश्य अत्यन्तै मार्मिक रह्यो । आदिवासी जनजाति समुदायको पहिचानको संघर्ष र कोशी प्रदेशको नामाकरणसम्बन्धी विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मको विशेष शो किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा लगायत विभिन्न जातीय संस्थाहरूको संयुक्त पहलमा आयोजना गरिएको थियो । दुईवटै हल बुक गरेर देखाइएको शोमा दर्शकको उल्लेख्य उपस्थिति थियो ।

भिम लामा फिल्मस् प्रालिको ब्यानरमा बनेको ‘लडाइँ पहिचानको’ गत मङ्सिर ५ गते देशभर प्रदर्शनमा आएको थियो । तर, सेन्सर बोर्डद्वारा महत्वपूर्ण दृश्यहरूमा व्यापक कटौती गरिएपछि कथाको मर्म कमजोर भएको भन्दै दुई दिनमै फिल्म हलबाट उतारिएको थियो । अहिले निर्माण पक्षले काटिएका दृश्यहरूलाई परिमार्जन गर्दै संशोधित संस्करणमार्फत फिल्मलाई पुनः दर्शकमाझ ल्याएको हो । निर्देशक भिम लामाका अनुसार परिमार्जित संस्करणसहितको विशेष प्रदर्शनी देशका विभिन्न सहरमा सुरु भइसकेको छ । यसअघि धरानमा सम्पन्न विशेष शो पनि भव्य र सफल भएको उनले बताए ।

फिल्ममा स्वर्गीय प्रशान्त तामाङसँगै करिश्मा मानन्धर, धिरेन शाक्य, सुरवीर पण्डित, जेनी घिसिङ, प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, नवीन मेन्याङ्बो, परशुराम चौधरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै दिलु सुब्बा, शर्मिला राई, सुबास योन्जन तामाङ, अरुण प्रधान, दिनेश कोइराला र रामजी बिष्टले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्म निर्माणमा भिम लामालाई रामजी बिष्ट, दिलु सुब्बा र उमेश तामाङले साथ दिएका छन् भने नृत्य निर्देशन मणिकुमार लिम्बू र सानुराजा थेगिमले गरेका छन् । कलाको पर्दाभित्र र बाहिर एकैसाथ घटेको यो घटनाले ‘लडाइँ पहिचानको’ लाई केवल फिल्म मात्र नभई स्मृतिमा रहिरहने एक भावनात्मक दस्तावेजका रूपमा स्थापित गरिदिएको छ ।

तपाईको प्रतिक्रिया