सिनेपा बक्सअफिस कलेक्सनले मिति २०८२ पुष २६ गते शनिबार राति ११ः५९ बजेसम्मको आधिकारिक साप्ताहिक बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ भने सार्वजनिक विवरणअनुसार, प्रदर्शनरत चलचित्रमध्ये ‘परान’ ले सबैभन्दा बढी कमाइ गर्दै बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ।
रिपोर्टका अनुसार चलचित्र ‘परान’ ले हालसम्म १७ करोड ७४ लाख २२ हजार १०० रुपैयाँ बराबरको आम्दानी गरेको छ भने यस चलचित्रका लागि कुल ६ लाख २९ हजार ६ सय ९० दर्शकले टिकट खरिद गरेका छन्, जसले यसको लोकप्रियता र दर्शक आकर्षणलाई स्पष्ट रूपमा देखाउँछ। त्यस्तै, चलचित्र ‘झरी पछिको इन्द्रेणी’ ले १ करोड १२ लाख ३८ हजार ९ सय रुपैयाँ कमाइ गरेको छ भने यस चलचित्रको टिकट संख्या ३५ हजार ८ सय ४२ पुगेको छ। यसैगरी, चलचित्र ‘एक्लो–१’ ले ४३ लाख २५ हजार ४ सय ९८ रुपैयाँ आम्दानी गर्दै १३ हजार ११ टिकट बिक्री गरेको सिनेपाले जनाएको छ।
कमाइको सूचीमा रहेको अर्को चलचित्र ‘मुगलान’ ले भने ६ लाख ३१ हजार ९ सय ४४ रुपैयाँको व्यापार गरेको छ भने यस चलचित्रका लागि २ हजार ४ सय दर्शकले टिकट काटेका छन्।
सिनेपाको यस साप्ताहिक बक्स अफिस रिपोर्टले नेपाली चलचित्र बजारको वर्तमान अवस्था र दर्शकको रोजाइ स्पष्ट पार्दै आएको छ। त्यस्तै आगामी हप्तामा यी चलचित्रहरूको कमाइमा कस्तो उतारचढाव आउँछ भन्ने चासो पनि बढेको छ।




































