अभिनेता अरुण क्षेत्री र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘हन्टर’ ले आफ्नो छायांकन यात्रा पूरा गरेको छ सङै दुई चरणमा विभाजित छायांकन ४५ दिनभित्र सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको अधिकांश दृश्यहरू सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने पश्चिम नेपालको महेन्द्रनगर आसपासका विभिन्न लोकेसनमा खिचिएको हो । यस फिल्ममार्फत अभिनेता अरुण क्षेत्री फरक एक्सन अवतारमा प्रस्तुत हुँदैछन्, जसले दर्शकमा उत्सुकता थपेको छ ।

‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका हुन् भने उनको निर्देशनमा बनेको पहिलो चलचित्र हो । निर्देशनसँगै उनले फिल्मको कथा लेखन र सम्पादनको जिम्मेवारी पनि आफैं सम्हालेका छन् । सिंहका अनुसार चलचित्र वास्तविक घटना र पात्रबाट प्रेरित भए पनि कथालाई सिनेम्याटिक रूपमा फिक्सनाइज गरिएको छ । उनले फिल्मले सुदूरपश्चिमको सामाजिक र सांस्कृतिक कथा भन्ने दाबी गरेका छन् । फिल्ममा अरुण र गरिमासँगै प्रकाश शाह, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्राविधिक पक्षमा कृष्ण थापाले छायांकन (डीओपी) गरेका छन् भने शुक्रराज साहको द्वन्द्व निर्देशन रहेको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी तथा बाबुल गिरी (धनबहादुर)को संगीतले फिल्मलाई सशक्त बनाएको छ । ट्राइडेन्ट कन्सेप्टसँगको सहकार्यमा क्याच कक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता रोयल भिमसेन हुन् । पोस्टर डिजाइनरका रूपमा परिचित भिमसेनले यही चलचित्रबाट निर्माण क्षेत्रमा डेब्यु गरेका हुन् । ममता सिंह, गोविन्द राज रोक्का र राज ए भट्ट फिल्मका निर्माता हुन् भने मनिष चन्द सह–निर्माताको रूपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया