चलचित्रपत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा “सिनेमामा कोशी प्रदेश २०८२” अन्तर्गत कोशी पर्यटन प्रवर्द्धनमा सिनेमा र कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। त्यस्तै कार्यक्रममा सिनेमा, कलाकार र पर्यटनबीचको सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भयो। कार्यक्रमका क्रममा कोशी प्रदेशमै सक्रिय कलाकारहरूलाई औपचारिक परिचयपत्र वितरण गरियो भने चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएका चलचित्रकर्मी तथा विभिन्न संघ–संस्थालाई सम्मान प्रदान गरियो।

कोशी प्रदेशमै सम्पूर्ण छायांकन सम्पन्न गरी यस वर्षकै ऐतिहासिक सफलता हात पार्न सफल चलचित्र ‘परान’ का लेखक तथा निर्देशक दीपक आचार्य ‘काकु’ विशेष रूपमा सम्मानित भए।
त्यसैगरी, फ्युचर कोलोनीमा चलचित्रकर्मी महासंघलाई भवनसहितको जग्गा उपलब्ध गराउने फ्युचर रियल स्टेट हाउजिङ प्रा.लि. का प्रबन्ध निर्देशक यम लामा सम्मानित भए। चलचित्रकर्मीका सन्तानलाई कक्षा १ देखि १० सम्म २५ प्रतिशत शैक्षिक छुट दिने इटहरी नोबल एकेडमी का अध्यक्ष राजेन्द्र श्रेष्ठ, ड्राइभिङ तालिममा २५ प्रतिशत छुट प्रदान गर्ने नेपाल हेब्बी ड्राइभिङ स्कुल इटहरी का प्रबन्ध निर्देशक शिव श्रेष्ठ, तथा होटल म्यानेजमेन्ट अध्ययनमा २५ प्रतिशत छुट दिने वाइट हाउस इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट की सङ्गिता श्रेष्ठलाई पनि सम्मान गरियो। साथै नोबेल मेडिकल कलेज विराटनगर, बी एण्ड सी हस्पिटल बिर्तामोड, कस्तुरी कलेज इटहरी लगायत संस्थाहरू सम्मानित भए।

कार्यक्रमलाई  लण्डनमा आयोजना हुने निफ (NIF) को दोस्रो सिजन को ब्यानरसमेत सार्वजनिक गरियो। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली, अभिनेता शिव श्रेष्ठ, वरिष्ठ चलचित्रकर्मी तथा निर्देशक रमेश बुढाथोकी, आदिवासी जनजाति महासंघ बेलायत का अध्यक्ष मेजर योगेश कोयी राई लगायतलाई चलचित्रकर्मी महासंघ कोशी प्रदेशको मानार्थ आजीवन सदस्यता प्रदान गरियो। पूर्वी नेपालमा रहेर कलाकारिता क्षेत्रमा क्रियाशील कलाकारहरूलाई परिचयपत्र वितरणसँगै सम्पन्न कार्यक्रमले सिनेमा र कलाकारमार्फत कोशी प्रदेशको पर्यटन प्रवर्द्धनलाई थप उचाइमा पुर्‍याउने स्पष्ट सन्देश दिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया