महाशिवरात्रि लाई लक्ष्यित गर्दै प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘शिवांश’ले आफ्नो पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक गर्दै दर्शकमाझ सङ्गीतिक यात्रा सुरु गरेको छ भने लोकलयको स्वाद बोकेको यस गीतमा लोकप्रिय गायक–संगीतकार राजनराज शिवाकोटी र गायिका समीक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द राजनराज शिवाकोटी र सरोज रञ्जितकारले संयुक्त रूपमा रचेका हुन् भने सङ्गीत स्वयम् राजनराजले नै भरेका छन्।

प्रेम, उमंग र विवाहको माहोललाई समेटिएको गीतले ग्रामीण तथा सांस्कृतिक परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। गुरुङ पहिरन र संस्कृतिको झल्कोले गीतलाई अझै मौलिक बनाएको छ। त्यस्तै  विक्रम चौहानको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार तेज गिरी, विमला लिम्बू र बारत लिम्बूको आकर्षक अभिनय देख्न सकिन्छ। प्रेमिल दृश्यहरूलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको भिडियोले दर्शकको ध्यान खिच्ने विश्वास गरिएको छ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा बनेको ‘शिवांश’बाट सन्तोष कुमार आत्रेयले निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको कथा निर्माता अञ्जान केसीले लेखेका छन् भने स्क्रिनप्ले बारत लिम्बूको रहेको छ। शोभा भण्डारी र अनिस केसी बोगटी सह–निर्माता तथा शम्भु थापा कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा प्रवीण खतिवडा, विमला लिम्बू, रुषा न्यौपाने, तेज गिरी, विकास जोशी, उदय कुमार सुब्बा, सन्तोष कुमार आत्रेय, बारत लिम्बू, प्रदीप कुमार चौधरी, तुलसा लिम्बू, सबिर चुरौटे, टिका निरौला, कुन्दन चौधरी, सागर घिमिरे, रत्न लिङ्देन लगायत कलाकारहरूको अभिनय रहेको छ। ‘शिवांश’मा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको सङ्गीत संयोजन छ भने शब्द रचना विप्लव प्रतीक र राजनराजको रहेको छ।

सरद महतोको छायांकन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, सुलक्षण भारतीको स्क्रिप्ट डक्टर र विराज खड्काको भीएफएक्स रहेको फिल्मको पोस्ट–प्रोडक्सन चलचित्र चौतारीले सम्हालेको हो। डिजिटल सिनेमा नेपाल (डीसीएन) ले फिल्मको वितरण गर्नेछ।
यसअघि शिव भावनालाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजरले चर्चा पाइसकेको ‘शिवांश’ अब गीतमार्फत दर्शकको उत्सुकता अझै बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया