माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘कुमारी’ ले प्रचार–प्रसारलाई थप आक्रामक बनाएको छ । देशव्यापी सांगीतिक यात्रामा निस्किएको फिल्मको टिमले यही शनिबार संघीय राजधानी काठमाडौंमा खुला कन्सर्ट आयोजना गर्ने भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने उक्त कन्सर्ट साँझ ५ बजेदेखि सुरु हुनेछ । दर्शकका लागि कन्सर्ट निःशुल्क राखिएको छ । आयोजकका अनुसार कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
काठमाडौं कन्सर्टलाई विशेष बनाउने दुई मुख्य आकर्षण छन् । लोकप्रिय गायक केहर सिंह लिम्बूले आफ्नो ब्यान्ड ‘केहर एन्ड द लुङा’ सँग लाइभ सांगीतिक प्रस्तुति दिनेछन् भने यही अवसरमा फिल्म ‘कुमारी’को ट्रेलर पनि सार्वजनिक गरिनेछ । माघ १ गते नेपालगन्जबाट सुरु भएको फिल्मको सांगीतिक यात्रा माघ ३ गते पोखराको हल्लनचोक र माघ ६ गते चितवनको नारायणी किनारमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । पोखरामा आयोजित कन्सर्टमा करिब ७ हजार दर्शकको उपस्थिति रहेको थियो ।
काठमाडौंपछि फिल्म टिम झापाको दमकमा माघ १७ गते कन्सर्ट आयोजना गर्ने तयारीमा छ । बिनिश इन्टरटेन्मेन्ट, पिक्चर फ्रेम र केन्द्र मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्म ‘कुमारी’ मा अबिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायत कलाकारको अभिनय रहेको छ । महेन्द्र अधिकारीको लगानीमा बनेको यस फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।




































