भोलि शुक्रबारदेखि एक्सनप्रधान नेपाली फिल्म ‘परिवर्तन’ देशभर प्रदर्शनमा आउँदैछ। सार्वजनिक टिजर र ट्रेलरले दर्शकमाझ उत्सुकता बढाए पनि बक्स अफिसमा भने फिल्मले कडा प्रतिस्पर्धा सामना गर्नुपर्ने देखिन्छ। विशेषतः बलिउडको बहुप्रतीक्षित फिल्म ‘बोर्डर २’ सँग एकैसाथ प्रदर्शनमा आउनुले ‘परिवर्तन’का लागि चुनौती थपिएको छ।

देशभरका अधिकांश मल्टीप्लेक्स हलले ‘परिवर्तन’लाई शो उपलब्ध गराइसकेका छन्। पहिलो दिनका लागि करिब ९० शो पाउनु नेपाली फिल्मका हिसाबले सन्तोषजनक मानिन्छ। यदि यी शोहरूमा ३०–४० प्रतिशत अकुपेन्सी हासिल गर्न सकियो भने फिल्मको सुरुआती ओपनिङ उत्साहजनक हुनसक्ने अनुमान गरिएको छ। तर, हालसम्मको अग्रिम टिकट बुकिङ भने अपेक्षाकृत कमजोर देखिएको छ। त्यसैले फिल्मको दीर्घकालीन व्यापार पूर्ण रूपमा दर्शकको ‘वर्ड अफ माउथ’ मा निर्भर रहनेछ। २ घन्टा १३ मिनेट रनटाइम रहेको ‘परिवर्तन’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘पिजी सर्टिफिकेट’ प्राप्त गरेको छ।

फिल्ममा लडाइँ र हिंसात्मक दृश्य धेरै भएकाले १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउने व्यवस्था गरिएको हो।  विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशील श्रेष्ठ, करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, आशा पौडेल, आयुषा कार्की र सिरु विष्ट लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मका निर्माता दीपक सिवाकोटी हुन्। कथा स्वयं सिवाकोटीले लेखेका हुन् भने शिवम् अधिकारीले पटकथा तथा संवाद तयार पारेका छन्।

तपाईको प्रतिक्रिया