प्रदर्शन मिति नजिकिँदै गर्दा “द ब्ल्यु लाइट” फिल्मको प्रचार टोलीले इटहरीमा फिल्मी पत्रकारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार इटहरी अवस्थित परिकला न्यूजको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै फिल्मका सहायक निर्माता भोलानाथ कटुवालले फिल्मको कथासार प्रस्ट्याए । उनले भने, “हाम्रो समाजमा श्रीमान्-श्रीमतीको झगडा सामान्य मानिन्छ, तर त्यसले साना बालबालिकालाई कतिसम्म मानसिक रूपमा विक्षिप्त बनाउँछ भन्ने पाटोलाई हामीले बेवास्ता गरिरहेका हुन्छौं । आमाबाबुको माया नपाएकी एउटी बालिकाको त्यही पीडादायी र कहालीलाग्दो जीवनलाई ‘द ब्ल्यु लाइट’ ले मुख्य विषय बनाएको छ ।”

जब घरभित्रको वातावरण अशान्त हुन्छ, त्यसको सबैभन्दा गहिरो र अदृश्य चोट बालबालिकाको मस्तिष्कमा पर्छ । यही तीतो सामाजिक यथार्थ र मानिसको मनभित्र गुम्सिएका भ्रमहरूको कथा बोकेर फिल्म ‘द ब्ल्यु लाइट’ दर्शक माझ आउने अन्तिम तयारीमा छ । शहीद दिवसको अवसर पारेर यही माघ १६ गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो फिल्मले दर्शकलाई हलबाट निस्किएपछि पनि सोच्न बाध्य बनाउने निर्माण पक्षको दाबी छ ।

काठमाडौं आसपास छायांकन गरिएको यो फिल्म पारिवारिक सम्बन्ध, बाल मनोविज्ञान र सामाजिक यथार्थको ऐना भएको सहायक निर्माता कटुवालले बताए । फिल्ममा बाल कलाकारको भूमिका निकै चुनौतीपूर्ण छ । पत्रकार सम्मेलनमा उपस्थित बाल कलाकार गृष्मा कटुवालले पनि आफ्नो अनुभव सुनाईन् । वास्तविक जीवनमा बुबाआमाको काखमा रमाइरहेकी गृष्मालाई फिल्मको ‘दुःखी र एक्लो’ पात्रमा ढल्न सहज थिएन ।

उनले भनिन्, “म घरमा सबैको माया पाएर हुर्किएकी छु । त्यसैले फिल्मको त्यो पीडादायी भूमिका मेरा लागि निकै गाह्रो थियो । तर, कथाको गहिराइ बुझेर र यस्तै भावनात्मक फिल्महरू हेरेर मैले आफ्नो भूमिकालाई न्याय गर्ने कोसिस गरेकी छु । मेरो रियल पारिवारिक कथा र फिल्ममा मेरो पारिवारिक कथा भने मिल्दोजुल्दो छैन ।” गृष्माकाे यो दोश्रो फिल्म हो । यसअघी उनले बलिदान फिल्ममा अभिनय गरेकी थिइन् । इटहरीमा आयोजना भएको मिस्टर एण्ड मिस लिटिल पुर्बेलीको पहिलो संस्करणमा प्रतिष्पर्धी हुँदै गर्दा उनले बलिदानमा अभिनय गर्ने अवसर पाएकी थिइन् ।

अडिसनमार्फत बलिदानमा छानिएकी उनले आफ्नो सपनाको बाटो तय गरेकी हुन । पत्रकार सम्मेलनमा गृष्माले आफ्नो सपना अभिनेत्री बन्ने रहेको सुनाईन् । फिल्ममा उनीसँगै अर्की बाल कलाकार सहारा शर्माको पनि अभिनय छ । सार्वजनिक पोस्टर र ट्रेलरले धेरैलाई यो ‘हरर’ फिल्म हो कि भन्ने भ्रममा पारेको छ । स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन् । यी दुई पात्रमार्फत प्रेम, धोका र बदलाको कथा भनिएको छ ।

फिल्ममा आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी जस्ता कलाकारहरूको दमदार उपस्थिति छ ।
फिल्मको कार्यकारी निर्मातामा अभिनेत्री बेनिशा हमाल स्वयं र चर्चित छायाकार नरेन्द्र मैनाली रहेका छन् भने सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । आकाश उखेडाको मुख्य सहायक निर्देशन, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइन र दिलीप पन्तको निर्माण नियन्त्रण रहेको यो फिल्मले नेपाली दर्शकलाई निराश नबनाउने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया