निर्माणाधीन नेपाली चलचित्र ‘आई एम जीत बहादुर’को छायांकन सेटबाट मुख्य कलाकार प्रियंका कार्की र जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। सुटिङका क्रममा खिचिएका तस्बिरहरूले फिल्मको कथावस्तु, चरित्रको मनोविज्ञान र कलाकारको प्रस्तुतिलाई झल्काउने प्रयास गरेको देखिन्छ।
सार्वजनिक लुक्समा प्रियंका कार्की स्वाभाविक भावमा प्रस्तुत भएकी छन्। उनको अभिव्यक्तिले कथामा उनी सशक्त र निर्णायक भूमिकामा रहेको संकेत गर्छ। प्रियंकाको यो अवतार अघिल्ला रोमान्टिक वा ग्ल्यामरस भूमिकाभन्दा फरक देखिएको छ, जसले फिल्ममा उनको चरित्रको गहिराइ बुझ्न सकिने आधार तयार गरेको छ। भने यता, जितु नेपाल पनि नयाँ लुक्स र फरक क्यारेक्टरमा देखिएका छन्। दर्शकलाई जितुको अभिनयमा नयाँ पाटो देख्न पाइने अपेक्षा जगाएको छ।
फिल्मको कथावस्तु सामाजिक यथार्थ र पात्रहरूको जीवन संघर्ष वरिपरि घुम्ने बताइएको छ। त्यसैअनुसार कलाकारको लुक्सलाई पनि कथासँग मेल खाने गरी तयार गरिएको निर्माण पक्षको भनाइ छ। लुक्स सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शक तथा फिल्मकर्मीहरूबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।
हाल ‘आई एम जीत बहादुर’को छायांकन विभिन्न लोकेसनमा तीव्र गतिमा भइरहेको छ। निर्माण टिमले फिल्मको कथा, प्रस्तुति र कलाकारको अभिनयलाई मुख्य बल बनाउँदै दर्शकमाझ फरक स्वादको चलचित्र पस्किने तयारी गरेको जनाएको छ। प्रियंका र जितुको सार्वजनिक लुक्सले फिल्मप्रतिको चासो अझ बढाएको छ।




































