सहिद दिवसको अवसर पारेर शुक्रबार (१६ माघ)देखि प्रदर्शनमा आएको नेपाली फिल्म  ‘द ब्लू लाइट’ लाई निर्माताले हलबाट अस्थायी रूपमा हटाउने निर्णय गरेका छन् । निर्माता कम्पनी स्काइफल पिक्चर्सका तर्फबाट निर्देशक बलिराम चौहानले सोमबार जारी गरेको विज्ञप्तिमा, फिल्मलाई थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने उद्देश्यले हालका लागि हलबाट उतारिएको जानकारी गराइएको छ ।

विज्ञप्तिअनुसार, दर्शकबाट फिल्मलाई नेपाली सिनेमा लागि फरक, नयाँ र महत्वपूर्ण प्रयासका रूपमा मूल्याङ्कन गरिएको भए पनि यसको विषयवस्तु र प्रस्तुति अझ व्यापक दर्शकसमक्ष पुर्‍याउन थप प्रचार आवश्यक रहेको सुझाव प्राप्त भएको छ । यही सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा मजबुत तयारीसहित पुनः रिलिज गर्ने योजना बनाइएको निर्माणपक्षको भनाइ छ ।

यद्यपि, दर्शक प्रतिक्रिया सकारात्मक रहँदारहँदै पनि फिल्मको व्यापारिक प्रदर्शन निराशाजनक देखियो । प्रदर्शनको तीन दिनसम्म देशभर २० प्रतिशत अकुपेन्सी समेत नपुगेपछि आइतबारबाट फिल्मका धेरै शो हटाइएका थिए । त्यसपछि मिडियामा ‘फ्लप’को ट्याग लाग्ने जोखिमलाई ध्यानमा राख्दै निर्माताले रिलिज स्थगित गर्ने निर्णय लिएको देखिन्छ । पछिल्लो समय नेपाली फिल्म उद्योगमा अपेक्षित व्यापार गर्न नसकेपछि विभिन्न कारण देखाउँदै फिल्मलाई हलबाट उतार्ने प्रवृत्ति बढ्दै गएको छ, र ‘द ब्लू लाइट’ पनि यही ट्रेन्डको पछिल्लो उदाहरण बनेको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको ‘द ब्लू लाइट’मा अर्पण थापा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मका सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् भने कार्यकारी निर्मातामा बेनिशा हमाल र नरेन्द्र मैनाली रहेका छन् । उल्लेखनीय कुरा के छ भने, अभिनेत्री बेनिशा हमालले यस फिल्मको डिजिटल अधिकार समेत खरिद गरेकी छन् ।

तपाईको प्रतिक्रिया