आज शुक्रबारबाट देशभरका सिनेमाहलमा दुई नेपाली चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ एकसाथ प्रदर्शनमा आएका छन्। फरक स्वाद र कथावस्तु बोकेका यी दुवै चलचित्रले दर्शकको रोजाइ जित्ने अपेक्षा गरिएको छ। रोमान्टिक प्रेम कथामा आधारित चलचित्र ‘कुमारी’ प्रेम, संस्कार र भावनात्मक उतार–चढावलाई केन्द्रमा राखेर निर्माण गरिएको हो।

यसअघि सार्वजनिक ट्रेलर, गीतसंगीत र भव्य ट्रेलर रिलिज कार्यक्रमका कारण फिल्मले दर्शकमाझ राम्रो चर्चा बटुल्न सफल भएको थियो। निर्माणपक्षले देशभर पर्याप्त शोसहित फिल्म प्रदर्शनमा आएको जनाएको छ। त्यस्तै, अभिनेत्री आना शर्माको कार्यकारी निर्माणमा बनेको चलचित्र ‘रमिताको पिरती’ पनि आजबाट सिनेमाहलमा लागेको छ। प्रेम, ब्रेकअप र आत्म–खोजको कथामा आधारित यस चलचित्रले विशेषगरी युवापुस्ताको भावना र सम्बन्धको यथार्थ चित्रण गर्ने प्रयास गरेको छ। ट्रेलर सार्वजनिक भएयता फिल्मले युवा दर्शकको ध्यान तानेको देखिन्छ।

एकै दिन दुई फरक शैलीका नेपाली चलचित्र प्रदर्शनमा आएपछि सिनेमा हलमा दर्शकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ। त्यस्तै प्रेम कथामा रुचि राख्ने दर्शकका लागि आजको शुक्रबार नेपाली चलचित्रका हिसाबले विशेष बन्ने छ।

तपाईको प्रतिक्रिया