अभिनेता पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’मा निर्देशक परिवर्तन भएको छ। प्रारम्भमा निर्देशकका रूपमा विकास सुवेदी रहने घोषणा गरिएको थियो। गत बैशाख १ गते फिल्मको निर्माण घोषणा हुँदा विकासले नै निर्देशन गर्ने तय भएको थियो।
फिल्मको छायांकन साउन महिनामा सुरु गर्ने तयारीसहित विकास सुवेदी र पल शाहसहितको टिम बागलुङको ढोरपाटनसम्म पुगेको थियो। तर, अन्तिम समयमा निर्माता र निर्देशकबीच आन्तरिक मतभेद उत्पन्न भएपछि फिल्मको काम रोकिएको थियो। अब भने फिल्ममा विकासको स्थानमा निर्देशक ओम प्रतीक भित्रिएका छन्। ओम तिनै निर्देशक हुन्, जसले पल शाहलाई फिल्म ‘मोहर’बाट सफलताको स्वाद चखाएका थिए। उक्त फिल्मपछि पल र ओमबीच आत्मीय सम्बन्ध पनि बनेको मानिन्छ।
सोमबार ओम प्रतीकले फेसबुकमार्फत पलसँग कागजी सम्झौतापछि खिचिएको तस्वीर सार्वजनिक गर्दै आफूले ‘यानीमाया’ निर्देशन गर्न लागेको जानकारी दिएका हुन्।
फिल्मको प्रारम्भिक चरणमा निर्देशक विकास सुवेदी हुँदा पल शाहको जोडीका रूपमा मोडल अञ्जना पुन मगर अनुबन्धित भएकी थिइन्। विकासले अडिसनमार्फत उनलाई छनोट गरेका थिए। तर, निर्देशक परिवर्तन भएसँगै अञ्जना फिल्ममा रहने वा नरहने भन्ने विषयमा भने यतिबेला धेरैको चासो देखिएको छ। यसबारे निर्माण पक्षले अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
फिल्ममा पल शाह मुख्य भूमिकामा देखिनेछन्। उनको आफ्नै कम्पनी पल शाह फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा चन्द्रज्योति आले सह–निर्माताका रूपमा रहने बताइएको छ। पलले यही फिल्ममार्फत औपचारिक रूपमा फिल्म निर्माणमा हात हाल्न लागेका हुन्। यसअघि उनले आफ्नो ब्यानरबाट केही म्यूजिक भिडियो निर्माण गरिसकेका छन्। भने पलले आफ्नै ब्यानरबाट निरन्तर फिल्म निर्माण गर्ने योजना बनाएको जनाइएको छ।










